नेपाल र म्यानमारबीचको खेल बराबरी

काठमाडौं । अन्तराष्ट्रिय महिला फूटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमारबीचको खेलको बराबरीमा सकिएको छ । आइतबार बेलुकी भएको खेलमा नेपाल र म्यानमारले २-२ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालको लागि सावित्रा भण्डारी र सविता राना मगरले समान एक/एक गोल गर्दा म्यानमारको लागि मे ह्टेट लु र म्याट नोए खिनले समान एक/एक गोल गरिन् । खेलको छैटौं मिनेटमा खिनले गोल गर्दै म्यानमारलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । उनको फ्रि-किकलाई नेपालकी गोलकिपर अन्जना राना मगरले जज गर्न नसक्दा सिधैं गोल भएको हो ।

११ औं मिनेटमा सावित्राको पासमा सविताले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याएकी थिइन् । पाँच मिनेटपछि नेपालकी डिफेन्डर गीता राना मगरको गल्तीको फाइदा उठाउँदै ह्टेट लुले म्यानमारलाई फेरी २-१ गोलको अग्रता दिलाएकी थिइन् । यस्तै ४१ औं मिनेटमा प्रितीको पासमा सावित्राले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी हुन् ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल २-२ गोलको बराबरीमा सकिएको हो । बराबरीसँगै दुई टोलीले एक/एक अंक बाढेका छन् । यससँगै म्यानमार र नेपालले तीन खेलबाट समान ७/७ अंक जोडेका छन् । गोल अन्तरको आधारमा म्यानमार शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा रहेको छ ।

अब दुई टोली बुधबार हुने फाइनल खेलमा उपाधिको लागि भिड्नेछन् । आजै भएको खेलमा किर्गिस्तानलाई २-० गोलले हराउँदै लेबनानले तेस्रो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *