काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको काठमाडौँ–तराई मधेस द्र्रूतमार्गका भौतिक प्रगति ३८.२६ र वित्तीय प्रगति ३९.८४ प्रतिशत पुगेको छ ।
नेपाली सेनाको २६२औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कुल ७०.९७७ किलोमिटर दूरीको उक्त आयोजनाअन्तर्गत रहेका सात सुरुङमध्ये दुईवटा ‘ब्रेक थ्रु’ भइसकेका र दुईवटा निर्माणाधीन रहेका जानकारी दिइयो ।
अन्य तीनवटा सुरुङको डिजाइन तथा पूर्वतयारीका कार्य भइरहेको आयोजना प्रमुख कमलविक्रम शाहले जानकारी दिए । विभिन्न कारणले उक्त आयोजनाको भौतिक प्रगति अपेक्षाअनुसार नभए पनि लक्ष्यअनुसार कार्य सम्पन्न गर्न कोसिस भइरहेको उनले बताए । आयोजनाको प्रस्थान विन्दु खोकनामा जग्गा प्राप्तिसम्बन्धी विवाद अझै टुङ्गिसकेको छैन ।
राजधानीबाट तराई जोड्ने छोटो दूरीको उक्त आयोजना सम्पन्न भएपछि तराईबाट काठमाडौँ ल्याउन सामानको ढुवानी लागत घट्ने मात्र नभई मुलुकको समग्र आर्थिक विकासमा कायापलट हुने अपेक्षासहित आयोजना प्रारम्भ गरिएको हो ।
उक्त आयोजना नेपाली सेनाले आगामी २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको प्रमुख शाहले बताए । यसैबीच मुलुकमा सुरक्षा, रक्षा तथा प्रतिरक्षासम्बन्धी विषयमा अध्ययन गराउने उद्देश्यका साथ निर्माण सुरु गरिएको प्रतिरक्षा विश्वविद्यालयको हालसम्मको भौतिक प्रगति ३०.५२ र वितीय प्रगति २५.७५ प्रतिशत रहेको सो अवसरमा जानकारी दिइयो ।
सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब
सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब एक करोड पुगेको छ । नेपाली सेनाद्वारा सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा २०३२ सालमा ‘बहुजन हिताय बहुजन सुखाय’को उद्देश्य राखेर स्थापित कोषको रकमगत पुस मसान्तसम्म आइपुग्दा त्यो परिमाणमा पुगेको जानकारी दिइयो ।
त्यसमध्ये बैङ्क तथा वित्तीय संस्थामा नगद मौज्दात ७९ अर्ब २८ करोड ५६ लाख रहेको छ । विभिन्न परियोजनामा लगानी सात अर्ब ७२ करोड ४४ लाख रहेको युद्ध कार्य विभागका सहायकरथी रवीन्द्र खत्रीले जानकारी दिए ।
यसमध्ये नेपाली सेनाका स्वास्थ्य विज्ञान संस्थानमा दुई अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी अस्पतालमा एक अर्ब ६० करोड ६० लाख लगानी रहेको जानकारी दिइयो । निक्षेपको प्रतिशतमा आएको गिरावटले सेनाका सोवाग्राही लक्षित कल्याणकारी कार्य तथा सार्वजनिक दायित्व प्रभावित पार्ने सङ्गठनले जनाएको छ ।