भ्याटिकन सिटी। क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसको अवस्था गम्भीर रहेको भ्याटिकनस्थित उनको कार्यालयले जनाएको छ।
गत फेब्रुअरी १४ देखि अस्पताल भर्ना भएका पोपलाई लामो समयसम्म श्वासप्रश्वासमा समस्या भएको र रगत चढाउनुपर्ने अवस्था आएको द होली सीले पोपको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन शनिबार राति जारी विज्ञप्तिमा भनिएको छ ।
‘शनिबार राति पोपले शान्तिपूर्वक आराम गरेको’ होली सीले आइतबार बिहान दिएको संक्षिप्त अपडेटमा उल्लेख छ ।
सन् २०१३ देखि क्याथोलिक चर्चका प्रमुख रहेका अर्जेन्टिनी धर्मगुरुलाई सुरुमा ब्रोन्काइटिसका कारण रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो।
भ्याटिकनले शनिबार साँझ नियमित मेडिकल बुलेटिनजारी गर्दै भनेको छ, “होली फादरको अवस्था गम्भीर रहेको छ, त्यसैले उहाँ अझै ‘खतरामुक्त’ हुनुहुन्न ।”
भ्याटिकनले फ्रान्सिस अझै पनि सतर्क रहेको र अघिल्लो दिनको तुलनामा बढी दुःख भोगेको भए तापनि कुर्सीमा दिन बिताएको बताएको छ ।
“नियमित रक्त परीक्षण भइरहेको र आइतबारको रिपोर्टमा रक्तअल्पतासँग सम्बन्धित ‘थ्रोम्बोसाइटोपेनिया’ समस्या पनि देखिएको छ,” विज्ञप्तिमा भनिएको छ।
थ्रोम्बोसाइटोपेनिया रगतमा प्लेटलेटको सङ्ख्या धेरै कम हुँदा हुन्छ र यसले रक्तस्राव रोक्न नसक्ने समस्या निम्त्याउन सक्छ र मानव स्वास्थ्यमा अत्यधिक जोखिम हुन सक्छ।
अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ ९एनआईएच० का अनुसार अत्यधिक रक्तस्राव भइरहेको छ वा रक्तस्रावको उच्च जोखिममा छ भने जोखिम कम गर्नका लागि रक्तनलीमा ‘इन्ट्राभेनस (आईभी)’ लाइनमार्फत रक्तनलीमा रगत वा प्लेटलेट ट्रान्सफ्युजन गरिन्छ ।
इटालीको कोरिएरे डेला सेरा अखबारले आइतबार बिहान ‘पोपको अवस्था झनै बिग्रँदै गएको’ शीर्षकमा समाचार छापेको छ भने ला रिपब्लिकाले भ्याटिकनको ‘सबैभन्दा कालो दिन’ भनेको छ ।