काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले ताप्लेजुङको पाथीभर (मुकुम्लुङ) मा केबलकार निर्माणका कार्यहरु तत्कालका लागि रोक्न माग गरेकी छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले केबलकार निर्माण तत्काल रोक्न माग गरेकी हुन् । उनले निर्माण रोकी आन्दोलनरत पक्षसँग वार्ता गरेर सहमति खोज्न र थुनामा रहेकाहरूलाई तत्काल रिहा गर्न माग गरेकी छन् ।
उनले भनिन्, ‘अहिले दैनिकजसो प्रहरी र आन्दोलनकारीबीच झडप भइरहेको अवस्था छ । हिजोमात्र त्यहाँ असामान्य स्थिति देखापर्यो । अहिले निषेधाज्ञा लागेको छ । राज्यको अर्कमर्णयताका कारण नागरिक ‘एस’ केवलकार र ‘नो केवलकार’ मा विभाजित भए । समाजवादको नारा भजाउने पार्टी नै सरकारमा हुँदा पनि यस्तो तनाव किन ?’
आन्दोलनकारीलाई गोली हानेर विकास नहुने उनले बताइन् । उनले भनिन्, ‘यसअघि सरकारले सम्झौता गरेको थियो । तर, कार्यान्वयन भएन । निशःर्त रिहा गर्ने भनेकामा धरौटी लिइएको छ। सरकारबाट सहमति उल्लंघन भएको छ । सरकारप्रति नागरिकको विश्वास डगमगाएको छ । जुन ठाउँमा विकास निर्माण हुँदैछ, त्यही ठाउँमा नागरिकलाई लाठ्ठी हानेर, गोली प्रहार गरेर गरिएको विकास भन्ने कि विनाश ? हामी पार्टीको तर्फबाट केबलकार निर्माण रोक्न माग गर्दछौँ ।’