नोमपेन । कम्बोडियामा भएको गृहयुद्धताका प्रयोग भएको विश्वास गरिएको हवाइ आक्रमणका लागि प्रयोग भएको ग्रेनेड घर नजिकै विस्फोट हुँदा कम्बोडियाका दुई बालबालिकाको मृत्यु भएको अधिकारीले आइतबार बताएका छन् ।
सन् १९८० र १९९० को दशकमा कम्बोडियाली सरकारी सैनिक र खमेर रुज लडाकुका लागि युद्धस्थल रहेको उत्तरपश्चिमी सिम रिप प्रान्तको दुर्गम गाउँमा शनिबार विस्फोट भएको हो ।
मृत्यु हुनेमा दुई वर्षका एक बालक र एक बालिका रहेका छन् ।
कम्बोडियन माइन एक्सन सेन्टर (सीएमएसी) का महानिर्देशक हेङ रतनाले भने, “अनुसन्धान प्रतिवेदनअनुसार दुई जना बालबालिका खेल्ने क्रममा जमिनमा माटो खनिरहेको बेला खन्ने औजारले ग्रिनेडलाई कोप्दा विस्फोट भएको र विस्फोटका कारण ती दुई बालबबालिकाको ज्यान गएको छ ।”
उनकाअनुसार एक बालकको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का एक बालकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।
“कम्बोडियामा पूर्ण रूपमा युद्ध समाप्त भएको छ र २५ वर्षभन्दा बढी समयदेखि शान्ति छ तर बारूदी सुरङ्ग र युद्धका अवशेषका कारण कम्बोडियाली जनताको रगत बगिरहेको छ,” हेङ रतनाले भने ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनका लागि विदेशी सहायता रोक्का गर्ने आदेश दिएपछि वासिङ्टनले अचानक आर्थिक सहयोग रोकेपछि कम्बोडियाले केही हप्ताका लागि डिमाइनिङ अपरेसन आंशिक रूपमा स्थगन गरेका समय यो दुर्घटना भएको हो ।
शुक्रबार कम्बोडियाली अधिकारीहरूले अमेरिकाले देशमा कामको लागि वित्त पोषण जारी राख्नको लागि छूट प्रदान गरेपछि नफुटेका युद्ध सामग्रीहरू सफा गर्ने कार्यलाई निरन्तरता दिइनुपर्ने बारूदी सुरूङ सफाई अधिकारीले बताएका छन् ।
कम्बोडियामा सन् १९६० को दशकदेखि सुरु भएको दशकौँ लामो युद्धका समय फ्याँकिएका गोलाबारुद र हातहतियार अहिले पनि व्यापक रूपमा भेटिने गरेका छन् ।