विजयकुमार पाण्डे ।
सबैलाई थाहा नै छ, गोपाल योञ्जन कति महान संगीतकर्मी थिए । तर थोरैले देखेका छन्, उनको त्यो महानताको सबैभन्दा मजबुत खम्बा रेन्छेन योञ्जन हुन भनेर । कति प्रेम र मेहनतले उनले त्यो जीवन बगैचा निर्माण गरिन्, जहाँ अमर संगीतकर्मी गोपाल योञ्जन थप फक्रिए । उनमा थप निखार आयो ।गोपाल योञ्जन आफ्ना मित नारायण गोपाल जत्तिकै अपठ्यारो नभए पनि, सजिला मान्छे पनि थिएनन् । मेरो निजी अनुभवमा कुनै पनि असाधारण प्रतिभा निजी स्तरमा त्यति सजिलो नहुन पनि सक्छ । असाधारण प्रतिभाहरु बच्चा झैं सरल हुन सक्छन् तर बखतबखतमा धेरै अपठ्यारा पनि बन्न सक्छन् ।
स्रोताका लागी गोपाल योञ्जन संगीत हुन् । तर रेन्छेनका लागी पति हुन् । छोरा छोरीका लागी पिता हुन् । कुनै पनि महान संगीतकर्मी, गीतमात्र हँदैन । उसको एउटा जीवन पनि हुन्छ । जीवनमा जीवनभन्दा ठूलो संगीत केही हुन्न । र, अरुको झैं संगीतकर्मी पनि, जीवन चल्नु पनि पर्छ ।
कयौं बच्चाहरु जतिसुकै मायालाग्दा भएपनि, अलि अपठ्यारा हुन्छन् नि ! हो, गोपाल दाइ सरल थिए तर कहिलेकाहीँ साह्रै अप्ठ्यारा पनि भइदिन्थे । गोपाल दाइको मुड न हो …
रेन्छेन, तिमीले रेडियोमा काम गरेर, ट्राभल एजेन्सी चलाएर र गोपाल दाइले स्कुल कलेजमा संगीत सिकाएर जम्मा भएका दुईचार पैसा जोडेर कति सुन्दर घर बनाएकी थियौ, चक्रपथमा । मलाई त्यो सुन्दर घरमा बिताएका क्षणहरुको सम्झना छ । त्यो घरको बगैंचा कति सुन्दर थियो है ..
सबैभन्दा धेरै सम्झना त त्यो घरको माथिल्लो तल्लामा रहेको स्टुडियोको छ । मैले त्यो स्टुडियोमा धेरै घण्टाहरुमा गोपाल दाइसँग बिताउने अहोभाग्य पाए । जीवनका दुःख र अभावबारे सुनाउदै भावुकताको क्षणमा गोपाल दाइले एकदिन कृतज्ञभावले भने–’रेन्छेनले मेरो संगीतको लागी धेरै गरेकी छ । विजयभाइ तिम्रो मनको रेकर्डमा रहोस् है, यो कुरा।’
रेन्छेन, मैले आजसम्म तिमीलाई यो कुरा कहिल्यै भनिन । कसैलाई पनि भनिन । आज भन्छु । जब जब कसैले गोपाल योन्जनको संगीतको महानताको चर्चा गर्छ, मेरो मनको एउटा कुनामा तिम्राप्रति कृतज्ञताको गहिरो भाव जाग्छ । यो कृतज्ञता मेरो मात्र होइन, सुष्माको पनि हो । विश्वभरी छरिएका सबै नेपाली संगीतप्रेमीको हो …
जब जब कुनै रेडियोमा, टेलिभिजनमा, युट्युबमा, कुनै सांगीतिक कार्यक्रममा गोपाल योन्जनले लेखेको, संगीत भरेको वा गाएको कुनै गीत बज्छ, मेरो मनको एउटा कुनामा तिम्राप्रति कृतज्ञताको भाव छाउँछ ।
तिमीले कति मेहनत, धैर्य र प्रेमले नेपाली संगीतको एक अमर सितारालाई आजन्म छहारी दियौ । उसका सुखमा पनि, उसका दुःखमा पनि, उसका मानमा पनि, उसका अपमानमा पनि । उसका आशामा पनि, उसका निरासामा पनि …
( हालै गोपाल योञ्जन फाउन्डेसनले ‘गोापाल योञ्जन’ प्रकाशनमा ल्याएको छ । त्यसमा कयां अग्रज स्रष्टा, संगीतकर्मी र विभिन्न क्षेत्रका व्यक्तित्वहरुको अनुभव संगालिएको छ । गोपाल योञ्जन र उनको परिवारसँग सानिध्यको सौभाग्य पाएका हाम्रो एउटा लेख पनि त्यो कृतिमा परेको छ । माथि उल्लेखित वाक्यहरु त्यही लेखका केही अंश हुन् । तस्वीर चाहिँ हिजो साँझको हो । टेबुलमा हामी चार जना थियौं । रेन्छेन, म, सुष्मा र सिर्जना । यो संग्रहणीय कृति – ‘गोपाल योञ्जन’ अब पुस्तक पसलहरुमा उपलब्छ छ )