धनगढीका चार सामुदायिक विद्यालयमा ‘ग्रासरुट फुटबल’ सञ्चालन

 

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रका चार सामुदायिक विद्यालयमा ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालन हुने भएको छ । ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालनका लागि धनगढी उपमहानगरपालिका र जिल्ला फुटबल सङ्घबीच सम्झौता भएको छ ।

धनगढी–१६ को बेहडाबाबा माध्यमिक विद्यालय, वडा नं ११ को दक्षिणकाली बहिरा आवासीय विद्यालय, वडा नं १५ को राष्ट्रिय माध्यमिक विद्यालय उर्मी र धनगढी–७ को पटेला खेल मैदानमा ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालन हुने भएको उपमहानगरपालिकाले जनाएको छ ।

नेपालको संविधानमा भएको व्यवस्था तथा खेलकुद शिक्षा विकास ऐन, २०७९ को दफा १० बमोजिम कैलाली जिल्ला फुटबल सङ्घसँग सम्झौता गरिएको नगरप्रमुख गोपाल हमालले बताए । उपमहानगरपालिकाले फुटबल मैदान निर्माणका साथै प्राविधिक तथा आर्थिक सहयोग गर्नेछ ।

फुटबल सङ्घले खेल सामग्री, खेलाडी, प्रशिक्षकलगायतको व्यवस्थापन गर्नेछभने  उपमहानगरपालिकाको निजी स्रोतबाट ‘ग्रासरुट फुटबल’ को खर्च ब्यहोर्ने गरी सम्झौता गरिएको हमालको भनाइ छ ।

नयाँ फुटबल खेलाडी उत्पादनका लागि विद्यालयस्तरबाटै प्रशिक्षणको कार्यक्रम सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ । गत वर्ष ‘ग्रासरुट क्रिकेट’ कार्यक्रमको सुरुवात गरेको उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालन गर्न सम्झौता गरेको हो ।

गत आर्थिक वर्ष सुरुआत गरिएको ग्रासरुट क्रिकेट कार्यक्रमसमेत सञ्चालनमा रहेको युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक केशव खत्रीले बताए । उनले क्रिकेट, ब्याडमिन्टनलगायत खेलकुद कार्यक्रम सञ्चालनमा रहेका वडामा हाल फुटबल कार्यक्रम सञ्चालन नगरिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *