काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी २० वर्षीया प्रकृति लम्साल गत आइतबार होस्टलको कोठामा मृत फेला परिन् । त्यसपछि सोही विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थी र भारतीय विद्यार्थीहरूले दोषीमाथि कारबाही गर्नुपर्ने भन्दै प्रदर्शन गरेका थिए । तर, विश्वविद्यालय प्रशासनले उल्टै नेपाली विद्यार्थीलाई होस्टलबाट निकाल्यो । त्यसपछि नेपाली विद्यार्थीहरूले विश्वविद्यालय छाडेका थिए । नेपाल सरकारले कूटनीतिक पहल गरेपछि विश्वविद्यालय प्रशासनले माफी मागी नेपाली विद्यार्थीलाई होस्टलमा फिर्ता बोलाएको छ र सुरक्षाको वचन दिएको छ । कलेजका उपकुलपति शरणजित सिंहले विज्ञप्ति जारी गरी माफी मागेका हुन् । उनले भनेका छन्, ‘नेपाली विद्यार्थीप्रति भएको दुव्र्यवहार र हाम्रो कलेको कर्मचारीको गैरजिम्मेवार व्यहारप्रति हामी अत्यन्तै दुःखी हुँदै माफी चाहन्छौँ । हामी नेपाली विद्यार्थीलाई त्यतिकै माया गर्छौँ जति भारत र विश्वका विद्यार्थीहरूलाई गर्छौँ।’
भारतीय सञ्चारमाध्यमका अनुसार, प्रकृति लम्सालले आत्महत्या गर्नुअघि मानसिक र शारीरिक यातना सहनुपरेको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियो क्लिपमा अद्विक श्रीवास्तवले निरन्तर गालीगलौज गर्दै उनलाई अपमानजनक शब्द प्रयोग गरेर मानसिक रूपमा दबाब दिएको सुन्न सकिन्छ । अहिले भारतीय प्रहरीले श्रीवास्तवाई पक्राउ गरेको छ । भुवनेश्वरको प्रहरी आयुक्तालयले अभियुक्त श्रीवास्तवविरुद्ध फौजदारी मुद्दा दर्ता गरिएको र उनलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको जानकारी दिएको छ । नेपाली विद्यार्थीहरुमाथि गरेको दुव्र्यहारको सर्वत्र विरोध पछि कलेजले माफी माग्दै नेपाली विद्यार्थीलाई फिर्ता बोलाएको हो । त्यस्तै कलेजले दुई जना सुरक्षागार्डलाई बर्खास्त गरेको छ र तीन जनालाई निलम्बन गरी अनुसन्धान सुरु गरेको छ । घटनाको छानिबन गर्न ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति पनि गठन गरेको छ ।
घटनालाई लिएर काठमाडौंस्थित भारतीय दूतावासले समेत नेपाली विद्यार्थीको सुरक्षाको चिन्ता नलिन आग्रह गरेको छ । यो घटनालाई लिएर नेपालका दुबै सदनमा सांसदहरुले प्राथमिकताकासाथ कुरा उठाएका छन् । उनीहरुले आगामी दिनमा यस्ता घटना हुन नदिन भारतसँग उच्चस्तरमा वार्ता गर्नसमेत सरकारलाई आग्रह गरेका छन् ।
प्रकृतिलाई आत्महत्या गर्न बाध्य पार्नेमाथि त कारबाही होला, तर उनको परिवारले अब प्रकृतिलाई त पाउने छैन । उनको जीवन त अब फर्केर आउने छैन । तर कलेजले माफी मागेको विषयलाई लिएर भारतलाई झुकायौं भन्ने खालको अभिव्यक्ति अहिले सामाजिक संजालमा पनि देखिन थालेको छ । त्यसअघि एकपटक सोचौं त । नेपालका कलेजका कक्षाकोठा खाली हुँदै गर्दा केआइआइटी कलेजमा मात्रै झण्डै १२ सय नेपाली विद्यार्थी अध्ययनरत रहेको तर्फ सोचौं त । किन त्यति धेरै विद्यार्थी अध्ययनका लागि भारत गए त ? विश्वविद्यालयमा मेरिटोक्रेसीका बारेमा नेताहरुले भाषण गरेको खुब सुन्न पाइन्छ । तर मेरिटोक्रेसी लागू भएको भए, शैक्षिक वातावरण राम्रो भएको भए, शैक्षिक नीति राम्रो भएको भए के नेपालीहरु अध्ययनका लागि यसरी लावालस्कर लागेर विदेश जान्थे त ?
भारतमा मात्र होइन अमेरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थी पनि समस्यामा परेका छन् । टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली सामाजिक अभियानकर्मीले विद्यार्थीका लागि समुदाय कार्यक्रम नामक अभियान सुरु गरेर करिब तीन हजार नेपाली विद्यार्थीका लागि खाद्यान्न सहयोग संकलन गरिरहेका छन् । कामविहीन नेपाली विद्यार्थीलाई कम्तीमा एक महिनाका लागि आवश्यक पर्ने खाद्यान्नमा विद्यार्थीलाई चामल, दाल, तेल, नुन, चना लगायतका खाद्यान्न सामग्री उपलब्ध गराउन लागिएको नेपाली समाज टेक्ससले जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई निष्कासन गर्ने योजनालाई कडाइका साथ कार्यान्वयनमा ल्याएपछि त्यसको प्रत्यक्ष असर नेपाली विद्यार्थीमा पनि परेको छ । गैरकानुनी आप्रवासीको खोजी गर्ने क्रममा प्रहरीले दैनिक हजारौं व्यावसायिक फर्ममा छापा मारिरहेको छ । कानुनी रूपमै बसोबास गरिरहेका र कामदार अनुमति पत्र भएका बाहेकले व्यावसायिक फर्ममा काम गरिरहेको भेटिएमा प्रहरीले चेतावनी दिने, पक्राउ गर्ने र केहीलाई निष्कासन गर्दै आइरहेको छ । यसैको प्रभावमा नेपाली विद्यार्थी परेका हुन् । हाल अमेरिकाका विभिन्न विश्वविद्यालयमा करिब ५० हजार नेपाली विद्यार्थी अध्ययनरत छन् ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. रञ्जनकुमार दाहाल यी घटनाबाट हामीले उच्च शिक्षा सुधार गर्नैपर्ने देखिएको बताउँछन् । उनी नेपाली विश्वविद्यालयहरुको कुना कुनामा र तन्द्रा तन्द्रामा राजनीति पुग्नु नै अहिलेको समस्या भएको टिप्पणी गर्छन् । उनको भनाई छ, केआईआईटीले माफी माग्यो रे, ति नेपाल र नेपालीलाई जथाभावी भन्नेहरुले पनि माफी मागे भन्दै पोष्ट नगरौं ! हामीले हाम्रो उच्च शिक्षा नसुधारी धरै छैन । तर कसरी ? सबै नेपाली विश्वविद्यालयहरुको कुना कुनामा र तन्द्रातन्द्रामा राजनीति पुगेको छ । सबै युवा काम र डिग्री विदेशमा नै खोज्छन् । यो समस्याको जडको निराकरण खोजौं । नत्र सयौं केआईआईटी जन्मिरहने छन् । नेपाललाई बोली र व्यवहारमा अझैं नंग्याउने छन् । हाम्रो चेतनाको हैसियत ‘ग्रेनाईट’, ‘केबलकार’ र ‘बेलुनको आगो’ मा अड्काउँदा हामी झन्झन् खस्किदै छौं !’