शासनका ‘अगुवा’हरुको अल्पदृष्टि र स्वमोहमा परेर राष्ट्रले धेरै गुमाउनु पर्यो

टंक कार्की ।

सबै भत्केको बिग्रको होइन । सबै सम्भावना रित्तिसकेको पनि होइन । त्यस्तो देखियो भने ठाने हुन्छ हाम्रो दृष्टिमा कहीं न कतै दोष छ – दर्शनशास्त्रीहरु त्यसलाई ‘ऐतिहासिक शुन्यवाद’ भन्न रुचाउँछन् । अलिक गौर गरेर हेर्दा अहिले हामी कहाँ एउटा सुषुप्त क्रान्ति जार – नदी/समुद्रको अन्तर प्रवाह जस्तै । शक्तिका ताजहरु गिर्दैछन् या तिनको प्रभावकारितामा जन साधारणले समेत अन्तश्करणबाट प्रश्न गर्न थालेका छन् । संचारको विकास तथा वाहिरी दुनिया संगको सम्पर्कले पनि यस परिघटनालाई अरु मलजल गरेको छ– ‘भूगोल’ साङ्गुरिएको छ र चिनापर्ची बढेको छ । शिक्षाले ‘गुरु’ भन्दा चेलो जान्ने भएर निस्केको छ । साहित्य, संगीत, कला र खेलकुदमा मानिसहरुको रुचि ह्वात्तै बढेको छ । तिनमा गुणात्मक विकास पनि भएको छ । सृजनाले मानिसलाई गुहारेको छ र त्यसलाई आफ्नो औकात भित्र सम्मान गर्न थालेका छन् । राम्रो के पनि भाको छ भने परिवर्तन र विकासको निम्ति मानिसहरु राज्यको योजना, विशेषज्ञता र आड भरोसालाई स्वीकार्दा स्वीकार्दै त्यसलाई पर्खिन छोडेका छन् – ताप्लेजुङ्का अलैंची किसानलाई, इलाम, तेह्रथुम र धादिङका सब्जी उत्पादकहरुलाई, जुम्ला, मुस्ताङका स्याउ उत्पादकहरुलाई, धनकुटा, र गोरखाका सुन्तला उत्पादकहरुलाई सोधे हुन्छ । अरु पनि यस्ता थुप्रै उत्साहजनक काम गाम ठाममा भएका छन् ।

उद्योग व्यवसाय केही मानिसको ढलिमलीबाट बाहिर आउला र ?भनेर अलिक अघिसम्म कल्पना गर्न सकिन्नथ्यो, त्यो अहिले अरुहरुको पहुँचमा पनि पुग्न थालेको छ र विविधता आएको छ । थातथलो छोडेर शहर र शहरबाट मुङ्गलान पस्नेहरुको संख्या ह्वात्तै बढेको छ । परिवार सानो भाको छ, छोरा छोरीहरु बढी स्वतन्त्र भाका छन् । निर्णयमा तिनको सहभागिता बढेको छ । अनुत्तरदायी शक्ति माथि विवेकको धावा अरु बेजोड बन्न थालेको छ – परम्परागत शक्तिका केन्द्रहरु धरासायी बन्न थालेका छन् – उनीहरु माथि ठुलो दवाव थुप्रिन थालेको छ – र हाकाहाकी भन्न थालिएको छ, ‘कि त भाग या त जमिनमा ओर्ल !’ कम्तिमा शक्ति नै विवेक र कार्य कुशलताको दशी होइन रहेछ भन्ने चेत जग भरि आएको छ । शक्तिको आख्यानमा परेका इतिहासका घटनाहरु पनि चाल्नामा छानिन थालेका छन् । टपर टुइयाँपनको भण्डाफोर हुन् थालेको छ । इमान र बेइमान बीच, निष्ठा र ढोंग बीच, स्वदेशी र ’पराई’ बीच, ‘धर्म’ र पाखण्ड बीच तथा सहभागिता र वर्चस्व बिचको भेद खुल्न थालेको छ । माने मान न माने मै तेरो मेहमान अव पुरानो उक्ति हुन थालेको छ । मानिसले बुझ्न थालेका छन्, स्याल निलो रंगमा सजिन सक्छ तर गीत गाउन सक्दैन । परिवर्तनले छलाङ मारेकै हो परन्तु सोचेको, र जो इमान र संकल्प भएको भए संभव पनि थियो, कायान्तरण हुन सकेन ।

शासनका ‘अगुवा’हरुको अल्प–दृष्टि र स्वमोहमा परेर राष्ट्रले धेरै गुमाउनु पर्यो । प्रणाली र त्यससँग संगति मिलाउनु पर्ने संरचना, संस्था र संस्कृतिको बेमेल र अझ वैचारिक स्खलनले गर्दा सामुहिक प्रज्ञा प्रशोधन गर्ने र कार्यान्वयन गर्ने दलीय संरचना विकास हुनु पर्नेमा पन्थ संरचना जस्ता देखिन थाले । लोकतान्त्रिक प्रणालीले खडा गरेको भ्यु टावरबाट जोरिपारिको चकचकी भने देखिने तर आफ्नो दयनीय अवस्थाबाट आसातित प्रगति हुन नसक्दा समाजमा निरासा, रोष, बेथिति र वितराग आएकै हो । यो स्थिति सृजना हुनुमा कसले क्याटालिस्टको काम गर्यो ? अगुवाहरुले उन्मुक्ति पाउने स्थिति छैन नै, तर समस्याको नाभी भने चलनचल्तिको विचार र त्यसलाई काँधमा बोक्दै आएको संस्थागत अन्तर प्रणालीमै गएर हेर्नु पर्ने हुन्छ ।
हाम्रो यथा हाललाई सुधार्नुको विकल्प छैन र यो सामुहिक बलमै मात्र गर्न सकिन्छ । लोकतन्त्र भनेको पार्टी पार्टी बीचमा होस या अन्तरपार्टी जीवनमा भित्र भित्रै श्रेष्ठताको लडाईं मात्र होइन साझा हितहरुको अनुसरण पनि हो । हाम्रो आफ्नै शक्ति सन्तुलनको निर्देश र पुकार पनि यही हो । आखिर खोल्सा खोल्सी मिलेर नै कोशी बन्ने हो, सप्तकोशी सबै कोशीको संगम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *