काठमाडौं । ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका छन् । प्रहरीले जोशीलाई बिहीबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले नयाँ बानेश्वरबाट जोशीलाई नियन्त्रणमा लिएको जनाएको छ । २४ माघमा ठमेलमा प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नर्गेन्द्रराज विष्टमाथि जोशीको समूमले कुटपिट गरेको थियो ।
उक्त घटनामा यसअघि ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारा पक्राउ परेका थिए । घटनाका मुख्य योजनाकार जोशीलाई उन्मुक्ति दिएको भन्दै सर्वत्र आलोचना भएको थियो ।
त्यसपछि बुधबार गृहमन्त्री रमेश लेखकले प्रहरी कुटपिटमा संलग्न जोसुकै भएपनि पक्राउ गर्न प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए । त्यसपछि जोशी पक्राउ परेका हुन् ।