काठमाडौं । नेपाल गुणस्तर परिषद्को ११४औँ बैठक सिंहदरबारमा सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले २१ वटा वस्तुमा नेपाल गुणस्तर कायम गरेको छ ।
जसमध्ये पिभिसी इन्सुलेटेड केबुलको दोस्रो संशोधन र त्यसको परीक्षण विधि सम्बन्धी ४ वटा गुणस्तर पारित गरिएको छ भने, कृषि कर्ममा प्रयोग हुने मिनिटिलर र पावर टिलरका साथै ५ वटा घरायसी उपकरणमा नेपाल गुणस्तर पारित गरिएको छ ।
यसै गरी खाद्य सुरक्षा व्यवस्थापन प्रणाली सम्बन्धी ८ बस्तुहरुमा आइएसओको गुणस्तरलाई अङ्गीकार गरिएको छ ।
मन्त्री भण्डारीले यस बाहेकका अन्य सामग्रीहरुमा पनि नेपाल गुणस्तर निर्धारण गर्नुपर्ने बताए । उनले निर्यात प्रवद्र्धन हुने सामग्रीहरूको अध्ययन गरी मापदण्डहरू कायम गर्न निर्देशन दिए ।
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक ज्योति जोशीको संयोजकत्वमा रहेको प्राविधिक समितिबाट पारित मस्यौदा नेपाल गुणस्तर परिषदबाट स्वीकृत भए पश्चात् नेपाल गुणस्तरको रूपमा मान्यता पाउने व्यवस्था छ ।
परिषद्मा उपाध्यक्षको रूपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव(उद्योग) र विभागका महानिर्देशक सदस्य सचिव रहने व्यवस्था छ ।
साथै अन्य मन्त्रालयहरू, विश्वविद्यालयका प्रतिनिधिहरू, विज्ञहरू र निजी क्षेत्रका प्रतिनिधिहरू समेत परिषद्मा सदस्य रहने व्यवस्था छ ।