गुल्मी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको अभियानमा केन्द्रित गर्नुपर्ने बेला आएको बताएका छन् ।
गुल्मीको धुर्कोट गाउँपालिका बर्बोटटमा निर्मित सहिद शमशेर स्मृति पार्कको बिहीबार उद्घाटन तथा सहिदहरुको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
जनयुद्ध र जनआन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि मुलुकमा एक चरणको राजनीतिक क्रान्ति संस्थागत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब जनतालाई समृद्ध र देशलाई आत्मनिर्भर बनाउने अभियानको थालनी गर्नुपर्ने बताए ।
‘एकथरिले मुलुकमा केही भएका छैन भन्ने गरेका छन् त्यसो होइन, गणतन्त्र स्थापनापछि धेरै क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको छ’– उनले भने,– ‘तर, जनताको उत्पादन क्षमतामा वृद्धि नहुँदा जनताले महसुस गर्ने गरी परिवर्तनको अनुभूति गर्न सकिरहेका छैनन्, अब हामी सिंगो मुलुकलाई एकताबद्ध गरेर राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकासलाई अभियानकै रुपमा अघि बढाउनुपर्ने बेला आएको छ।’
हजारौं युवाहरु विदेश जाने र रेमिट्यान्सबाट देश चलाउने अवस्था रहेको उल्लेख गर्दै उनले देशभित्रै रोजगारी सृष्टि गरेर विदेश जान बाध्य युवाहरुलाई पुनः स्वदेशकै फर्काउने गरी सबै तहका सरकारले योजना बनाउनुपर्ने र त्यसमा पनि मूलतः कृषि उत्पादन वृद्धिका लागि स्थानीय सरकारहरुले योजनाबद्ध पहल थाल्नुपर्ने बताए ।
‘हामी जति जतिसक्दो धेरै उत्पादन वृद्धि गरी रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गर्न चाहन्छौं’– उनले भने, ‘अब हामीले राजनीतिक रुपमा पनि समाजवादउन्मुख अर्थतन्त्रको निर्माणमा जोड दिन चाहेका छौं, हिजो जसरी राजनीतिक क्रान्तिलाई अभियानकै रुपमा अघि बढाउँदा सफलता प्राप्त भयो, अब त्यसरी नै आत्मनिर्भर अर्थतन्त्रको विकासलाई अभियानकै रुपमा बढाउनुपर्ने बेला आएको छ।’
स्थानीय तहबाट उत्पादन वृद्धिका कार्यक्रम सुरु गर्ने गरी पार्टीले योजनाबद्ध पहल थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकको राजनीतिक प्रतिवेदनमै स्थानीय विशेषतामा आधारित उत्पादन वृद्धिका कार्यक्रममार्फत राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकासलाई जोड दिएको बताए ।
‘हामीले ५० वर्षअघि खाद्यान्न निर्यात गथ्र्यौै तर अहिले आयातमा गर्ने अवस्थामा पुगेका छौं’–उनले भने, ‘आफ्नो खेतबारी बाझो छाडेर बिदेश जाने प्रवृत्ति बढ्दै गएको छ, यसको मुख्य कारण उत्पादन वृद्धिमा राज्यको योजनाबद्ध पहल नहुनु नै हो। अब हामी फेरि आत्मनिर्भरताको अभियानमा केन्द्रित हुनुपर्ने बेला आएको छ। खाद्यान्न आयात होइन निर्यात गर्ने दिन फर्काउनु पर्ने बेला आएको छ।’
कृषि र कृषिजन्य उत्पादनसँगै शिक्षा क्षेत्रलाई देशमा आवश्यक जनशक्ति उत्पादनमा केन्द्रित गर्नुपर्ने आवश्यकतामा पनि उनले जोड दिए ।
अमेरिकाले थालेको आप्रवासी निष्कासन कार्यक्रम, मध्यपूर्वमा देखिएका तनाव आदिका कारण कुनै बेला हजारौं नेपालीहरु वैदेशिक रोजगारी छाडेर नेपाल फर्कने अवस्था आउनसक्ने आँकलन गर्दै अध्यक्ष प्रचण्डले त्यसका लागि समेत हामी तयारी अवस्थामा बस्न आवश्यक रहेको बताए ।