भक्तपुर । भक्तपुर जिल्लाको हनुमानघाटस्थित त्रिवेणीधाममा लागेको एक महिने माधव नारायण मेला एवं व्रत आजदेखि सम्पन्न भएको छ । नेपाल संवत्को आठौँ शताब्दीमा प्रारम्भ भएको एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि सम्पन्न भएको हो ।
हरेक वर्ष पौष शुक्लपूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला हनुमान घाटस्थित त्रिवेणी धाममा आज स्नान गरी सूर्यलाई अघ्र्य दिएर यज्ञ आहुति गर्र्दैै व्रत समापन भएको माधवनारायणका पुजारी सरोजन शर्माले बताए । साँखुको शालिनदीमा भन्दा पहिलादेखि यो मेला एवं व्रत सुरु भएको शिलालेख एवं ग्रन्थमा उल्लेख भएको जनाउँदै उनले तत्कालीन राजा रणजित मल्ल आफैँ उपस्थित भएर व्रत प्रारम्भ भएको शिलालेखमा उल्लेख भएको बताए ।
राम, लक्ष्मण वनबास आउँदा यही ठाउँमा बसेर दही चिउरा खाएको र त्यस क्रममा पानीको व्यवस्था गर्न हनुमानले आफ्नो पुच्छरले खाल्डो बनाएर पानी निकालेको कथन रहेको संस्कृतिकर्मी गुरु परमानन्द जोशीले जानकारी दिए । यही स्थानमा उत्तर, दक्षिणबाट आएको खोला एवं हनुमानले पुच्छरबाट पानी निकालेपछि आएको मूलको पानी मिश्रित हुने भएकाले पनि यस क्षेत्रलाई त्रिवेणीधाम भन्ने प्रचलन रहेको उनले जानकारी दिए ।
माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु गर्दाको दिनजस्तै आज समापनमा पनि निराहार बस्दै बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्दै शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्दै पूजा गरिएको थियो । बर्तालुहरुले त्रिवेणीमा दैनिक नित्य पूजा तथा माधवनारायणको कथा वाचन र हनुमानघाट त्रिवेणी कुण्डमा दैनिक स्नान गर्ने गरेका थिए ।
नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको बताउँदै उनले यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ व्रत बस्ने र स्नान गर्न आउने गरेको उनको भनाइ थियो ।
बर्तालुले एक महिनासम्म खाली खुट्टा पैदल नै तील माधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरि जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नानगरि कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पुर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर एक महिने व्रत समापन गर्ने परम्परा रहेको बर्तालु विनोदकुमार प्रजापतिले जानकारी दिए ।
बर्तालुहरु त्रिवेणीघाटमा महिनादिनसम्म बसेर व्रत पूरा गर्ने र कतिपय बर्तालु भने हरेक दिन बिहान त्रिवेणीघाटमा आएर स्नान गरी विभिन्न स्थानको कलश यात्रामा सहभागी जनाउने परम्परा रहेको छ । बर्तालुहरुले आज माघ शुक्ल पूर्णिमाका दिन बिहान त्रिवेणी खोलामा आएर स्नान गरि माधवनारायणको पूजा गरेर होम आहुति गरेपछि भक्तपुर नगरका विभिन्न देवालयको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गरेका हुन् ।
माधवनारायण व्रत समितिका सचिव लक्ष्मीप्रसाद रञ्जितले एक महिनासम्म लागेको मेलामा माधवनारायणको मन्दिरमा कथा वाचन गरिएको जानकारी दिँदै यस वर्ष महिला र पुरुषले गरी ३० जना व्रत बसेकोे जानकारी दिए ।