स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने सबै स्टिल र एल्मुनियममा २५ प्रतिशत आयात कर लगाउने घोषणा गरेका छन्।

उनको यो घोषणाले विश्वका धेरै देश प्रभावित हुने र त्यसमध्ये पनि छिमेकी देश क्यानडा सबैभन्दा बढी प्रभावित हुने जनाइएको छ।

ट्रम्पले यसै हप्ता आयातमा कर लगाउने राष्ट्रहरूमाथि समान प्रतिशोधात्मक कर लागु गर्ने घोषणा गरिने बताएका छन्। तर उनले कुन देशहरूलाई लक्षित गरिनेछ वा कुन देशलाई छुट हुनेछ भन्ने विषय स्पष्ट गरेका छैनन्।

ट्रम्पले कर लगाउने घोषणा गर्दै भने, ‘यदि उनीहरूले हामीलाई कर लगाउँछन् भने हामी पनि उनीहरूलाई कर लगाउँछौँ,’ ट्रम्पले भने।

आइतबार फ्लोरिडामा हुने एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनले पत्रकारहरूलाई आफ्नो योजनाबारे बताएका थिए। क्यानडा र मेक्सिको अमेरिकाका दुई ठूला स्टिल व्यापार साझेदार हुन्, जसमा क्यानडा अमेरिकी बजारमा एल्मुनियम धातु आपूर्ति गर्ने सबैभन्दा ठूलो देश हो।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा क्यानडा, मेक्सिको र युरोपेली संघबाट आयात हुने स्टिलमा २५ प्रतिशत र एल्मुनियममा १० प्रतिशत कर लगाएका थिए। तर एक वर्षपछि अमेरिका, क्यानडा र मेक्सिकोबीच सम्झौता भई ती कर हटाइएका थिए, जबकी युरोपेली संघमाथिको कर २०२१ सम्म यथावत् रहेको थियो।

ट्रम्पले एक घोषणा गर्दै अब स्टिल र एल्मुनियममा सबैलाई कर लगाउने घोषणा गर्ने बताए। ‘अमेरिकामा आउने कुनै पनि स्टिलमा अब २५ प्रतिशत कर लाग्नेछ,’ उनले भने।

यसको प्रतिक्रियास्वरूप ओन्टारियो प्रान्तका सरकार प्रमुख डग फोर्डले ट्रम्पले ‘नियम परिवर्तन गर्दै निरन्तर अराजकता सिर्जना गरेको’ भन्दै यसले अर्थतन्त्रलाई जोखिममा पार्ने बताए। क्यानडाको स्टिल उत्पादन मुख्य रूपमा ओन्टारियोमै केन्द्रित छ।

ट्रम्पको यो आदेशपछि अमेरिका निर्यात हुने विश्वभरका स्टिल र गाडी कम्पनीहरुको सेयरमा पुनः एकपटक गिरावट आएको छ। ट्रम्पको अभिव्यक्तिपछि दक्षिण कोरियाली स्टिल र गाडी कम्पनीहरूको सेयरमा गिरावट आयो। दक्षिण कोरिया अमेरिकी बजारमा स्टिल आपूर्ति गर्ने प्रमुख निर्यातकर्तामध्ये एक हो।

त्यस्तै, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आफ्नो सरकार अमेरिकासँग अस्ट्रेलियालाई कर छुट दिन आग्रह गर्ने बताएका छन्। ट्रम्पको पहिलो कार्यकालमा अस्ट्रेलियाले छुट पाएको भन्दै उनले दोस्रो कार्यकालमा पनि छुट हुने विश्वास व्यक्त गरे।

चिनियाँ कूटनीतिज्ञ तथा अर्थशास्त्री भिक्टर गाओले यो व्यापार युद्धका लागि अमेरिका नै जिम्मेवार रहेको आरोप लगाए। तर उनले अमेरिकी उपभोक्ताको सस्तो चिनियाँ सामानप्रतिको मागका कारण चीनलाई धेरै ठूलो असर नपर्ने धारणा व्यक्त गरे।

ट्रम्पको आर्थिक दृष्टिकोणमा कर (ट्यारिफ) प्रमुख भूमिका राख्दै आएको छ। उनले यसलाई अमेरिकी अर्थतन्त्र वृद्धिको माध्यम, रोजगारीको संरक्षण गर्ने उपाय र कर राजस्व बढाउने साधनका रूपमा व्याख्या गर्दै आएका छन्।

यस महिनाको सुरुमा ट्रम्पले क्यानडा र मेक्सिकोबाट आउने सामानमा २५ प्रतिशत आयात कर लगाउने चेतावनी दिएका थिए। तर दुवै देशका नेताहरूसँगको छलफलपछि उनले यो योजना ३० दिन (मार्चको सुरुआतसम्म) का लागि स्थगित गरे।

उनले अमेरिकामा आयात हुने सबै चिनियाँ सामानमा १० प्रतिशत नयाँ कर पनि लागू गरेका छन्। यसको प्रतिक्रियास्वरूप बेइजिङले पनि आफ्नै कर प्रणाली ल्याएको छ, जुन सोमबारबाट कार्यान्वयनमा आएको छ।

ट्रम्पले मंगलबार वा बुधबार थप प्रतिशोधात्मक करहरूको घोषणा गर्ने बताएका छन्, जसले घोषणा भएको लगभग तुरुन्तै प्रभाव पार्नेछ। ‘अमेरिकाको फाइदा उठाउनेहरूमाथि हामी समान रूपमा कर लगाउने छौँ,’ उनले भने।

न्यु ओरलिन्स यात्राका क्रममा ट्रम्पले ९ फेब्रुअरीलाई ‘गल्फ अफ अमेरिका दिवस’ को रूपमा घोषणा गर्ने आदेशमा हस्ताक्षर गरे। उनले मेक्सिको खाडीको नाम परिवर्तन गरेर ‘गल्फ अफ अमेरिका’ राख्ने निर्णयको सम्मानमा यो दिवस मनाउने बताए।

तर मेक्सिकोले अमेरिकाले एकतर्फी रूपमा खाडीको नाम परिवर्तन गर्न नसक्ने दाबी गरेको छ। संयुक्त राष्ट्रसंघका नियमअनुसार कुनै पनि देशको सार्वभौमिक क्षेत्र तटरेखाबाट केवल १२ नटिकल माइलसम्म मात्र मान्यता प्राप्त हुन्छ।

ट्रम्पले उक्त मौकामा फेरि एकपटक आफूले क्यानडा र गाजापट्टीलाई अमेरिकामा समाहित गर्ने चाहना व्यक्त गरेका थिए। ‘क्यानडाले अमेरिकाको ५१औँ राज्यको रूपमा अझ राम्रो प्रगति गर्नेछ।’

त्यस्तै, उनले गाजापट्टीबारे पनि भने, ‘म यसलाई किन्न र आफ्नो बनाउन प्रतिबद्ध छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *