काठमाडौं । बालकलाकार हुँदै अभिनय सुरू गरे अभिनेता सलोन बस्नेत अब निर्माता बनेका छन् । सोमबार चलचित्र ‘रङ्गी’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभिनेता बस्नेतले सामाजिक सञ्जालमा भेटेको एक भिडियोले आफूलाई चलचित्र निर्माण गर्न प्रेरित गरेको बताए ।
‘रङ्गी’ मा बुबाको सङ्घर्ष र त्यागलाई देखाइएको उनले जानकारी दिए। बुबाको अव्यक्त प्रेमलाई चलचित्रमा देख्न पाइने बस्नेतले बताए । निर्माताको रूपमा पहिलो चलचित्र भएकाले आफ्नो लागि यो सधँै खास रहने अभिनेता बस्नेतको भनाइ छ ।
“म चलचित्रकै माध्यमले चिनिएँ, बालकलाकारदेखि चलचित्र कर्ममै छु, मलाई मन परेको कथामा चलचित्र बनाउने सपना थियो, त्यो पूरा भएको छ,”, अभिनेता बस्नेतले भने ।
यसै चलचित्रमार्फत सन् २०२२ कि मिस नेपाल नम्रता श्रेष्ठ अभिनयमा ‘डेब्यु’ गरेकी छन् । उनले आफ्नो बाल्यकालदेखि कै अभिनेत्री बन्ने सपना पूरा भएको बताए ।
चलचित्रमा विशाल पहाडी, उत्तम केसी, बालकलाकार आयुषी ढकाल, सुमिन गुरुङलगायतले अभिनय गरेका छन् । यसै चलचित्रमार्फत सुरेश न्यौपानेले पनि निर्देशनमा डेब्यु गरेका हुन् ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा तयार भएको चलचित्रमा सुमन गजमेरको कथा, सौरभ लामाको छायाङ्कन, दुर्गेश थापा, आमेश भण्डारी र भीम विसीको सङ्गीत छ भने बन्दे प्रसादले सम्पादन, राजेन्द्र मोक्तानले रङ्ग संयोजन, कविराज गहतराज र शिशिर खातीले नृत्य निर्देशन गरेका छन् ।