काठमाडौँ । कानुन व्यवसायीको अनुगमन र नियमन गर्ने संस्था नेपाल कानुन व्यवसायी परिषद्को बागमती प्रदेश पार्षदमा वरिष्ठ अधिवक्ता रविनारायण खनाल विजयी भएका छन् ।
परिषद्को बागमती प्रदेशको पार्षदका लागि प्रगतिशील, पेसागत, देशभक्त र समावेशी समूहका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता खनालले दुई हजार चार सय ४९ मत ल्याएर विजयी भएको बागमती प्रदेशको निर्वाचन समन्वय समितिका प्रमुख वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले जानकारी दिइन् । अर्का उम्मेदवार नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसनका वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालाले एक हजार आठ सय ४२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, कोशी प्रदेश पार्षदमा राजु ढकाल, मधेसमा सञ्जीवकुमार मल्लिक, गण्डकीमा दयाराम गौतम, लुम्बिनीमा ईश्वरीप्रसाद ज्ञवाली, कर्णालीमा मातृकाप्रसाद खनाल र सुदुरपश्चिम प्रदेशमा टेकबहादुर कठायत विजयी भएका छन् ।
सातै प्रदेशमा शनिबार मतदान भएको थियोे । परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताहरूको निर्वाचनमण्डलबाट एक जनाका हिसाबले सात प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्षदहरूको चयन गर्नुपर्ने व्यवस्थाअनुसार परिषद्को पार्षदको निर्वाचन भएको हो । सातै प्रदेशमा एक–एक परिषद्को पार्षद छान्नका लागि देशभर ११ हजार मतदाता रहेका छन् ।
महान्यायाधिवक्ताको अध्यक्षतामा रहने कानुन व्यवसायी परिषद्को उपाध्यक्षमा नेपाल बार एशोसिएसनको निर्वाचित अध्यक्ष, सर्वोच्च अदालतको रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयको डिनसहित सात प्रदेशबाट सात पार्षद चयन हुन्छन् । परिषद््को पार्षदको पदावधि पाँच वर्षको हुने छ ।