काठमाडौँ । राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनामा चुनौतीका रूपमा देखिएको खोकना इलाकाको जग्गा अधिग्रहणसम्बन्धी समस्यालाई विकल्प तयार गरी अवरुद्ध काम अघि बढाइने भएको छ ।
खोकनाको समस्याका कारण द्रुतमार्गको सुरु बिन्दु निर्धारण र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकाले उक्त खण्डको खरिद तथा निर्माण प्रभावित भइरहेको छ । द्रुतमार्गको शून्य किमीदेखि छ दशमलव पाँच किमीसम्मको खरिद तथा निर्माण सुरु हुन सकेको छैन ।
समस्या समाधानका लागि रक्षामन्त्रीको संयोजकत्वमा जग्गा अधिग्रहणसम्बन्धी विवाद समाधान समिति तथा अन्य उपसमिति गठन गरी कार्य अघि बढाइएको रक्षा मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायत उच्चाधिकारीको सहभागितामा खोकनाको समस्या तथा आयोजनाको प्रगतिबारे छलफल गरेका थिए ।
रक्षामन्त्री राईले द्रुतमार्गको प्रभावकारी कार्यान्वयनका लागि सरोकार भएका सबैसँग समन्वय गरी लक्ष्यअनुसार प्रगति हासिल गर्न निर्देशन दिएका छन् ।
मन्त्रालयको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा शुक्रबार यस्तो र्दिेशन दिएका हुन् ।
मन्त्री राईले आफूसहितको टोलीले गत पुस २२ गते खोकना–बुङ्मती इलाकाको स्थलगत अनुगमन गरेको जानकारी गराउँदै खोकनाको समस्या समाधान गर्न विभिन्न विकल्प निकाल्ने गरी योजनाबद्ध रूपमा काम भइरहेको उल्लेख गरे ।
उनले यसबाहेक अन्य सडक आयोजना निर्माण, सैनिक सामग्री खरिद, चुरे संरक्षण, विपद् उद्दारलगायत कार्यमा लक्ष्यअनुसार प्रगति भएकामा प्रशंसा गरे ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले भएका प्रगतिको मूल्याङ्कन गर्दै खोकनाको समस्यालाई यथाशीघ्र समाधान गर्नुपर्ने सुझाव दिए ।
आयोजना निर्माणमा आयोगकातर्फबाट हुने सहयोग सधैँ रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले कुनै एक समस्यालाई देखाएर अन्य स्थानको काममा ढिलाइ गर्न नहुने धारणा राखे ।
मन्त्रालयका सचिव रामेश्वर दङ्गालले चालु आर्थिक वर्षको ६ महिनामा टेण्डरसहितका कार्य गर्नुपरेकाले अपेक्षानुसार काम भएको नदेखिए पनि बाँकी अवधिमा लक्ष्यानुसार काम हुने प्रतिबद्धता व्यक्त गरे । उनले अन्य आयोजनाका जस्तै समस्याहरू द्रुतमार्गमा पनि देखिनु दुःखद् पक्ष भएको उल्लेख गरे ।
प्रधानसेनापति अशोकराज सिग्देलले गत असोज ११ र १२ गते भएको अत्यधिक वर्षाका कारण दु्रतमार्ग आयोजनाका पहुँचमार्गलगायत विभिन्न संरचनामा क्षति भई कार्य प्रभावित भएको अवगत गराए ।
उनले वर्षाका कारण वाग्मती नदीको बहावसहित भौगालिक परिवर्तन भएकाले केही संरचनाको नयाँ भौगर्भिक अध्ययन तथा पुनःडिजाइन गर्नुपर्ने अवस्थाका बारेमा जानकारी गराए ।
कूल ७० दशमलव ९७ किलोमिटर लम्बाइको द्रुतमार्ग २०८३ साल चैतसम्म सम्पन्न गर्नुपर्ने लक्ष्य छ । आयोजनाको प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको छ । आयोजनाको हालसम्म समष्टिगत भौतिक प्रगति ३७ दशमलव ६० र वित्तीय प्रगति ३९ दशमलव ५६ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।
कार्यक्रममा मन्त्रालयअन्तर्गतका द्रुतमार्गसहित करिडोर तथा अन्य सडक आयोजना, राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम, बङ्करबाट ब्यारेकसम्म कार्यक्रम, राष्ट्रिय सेवा दल, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, विपद् व्यवस्थापनलगायत आयोजना र कार्यक्रमका लक्ष्य तथा प्रगतिबारेमा जानकारी गराइएको थियो ।