विपिन जोशीको शिघ्र रिहाइका लागि विशेष पहल गरिदिन अरब संसदका अध्यक्ष सभामुखको पत्र

काठमाडौँ । सभामुख देवराज घिमिरेले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शिघ्र रिहाइका लागि अरब संसदका अध्यक्ष महामहिम मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेखेका छन् ।

सभामुख घिमिरेले शुक्रबार अरब संसदका अध्यक्षलाई पत्र लेख्दै विपिनको शिघ्र रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेका हुन् ।

सभामुखले पत्रमा भनेका छन्, ‘नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि पहल र सहयोगका लागि अनुरोध गर्दछु ।’

पत्रमा सभामुख घिमिरेले नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै विपिन जोशीलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

हमासले २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि जोशीलाई बन्दी बनाएको थियो । जोशीको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको छ ।

सभामुख घिमिरेले नेपाल सार्क, बिमस्टेकजस्ता क्षेत्रीय तथा उपक्षेत्रीय संरचनाहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएको स्मरण गराउँदै नेपाल र अरब लिगबीच थप सहकार्यको आवश्यकमा जोड दिएका छन् ।

बिहीबार राति परराष्ट्रमन्त्री डा. आरजु राणाले पनि इरानी विदेशमन्त्रीलाई टेलिफोन गरी विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेकी थिइन् ।

जवाफमा इरानी विदेशमन्त्रीले आफूले यसबारेमा हमासका प्रतिनिधिसँग कुरा गर्ने बताएका छन् । विपिनको रिहाइका लागि सरकारले कुटनीतिक पहल गरिरहे पनि उनको रिहाइ भने भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *