-डा. विश्व पौडेल ।
अमेरिकामा युएसएआइडीलाई खारेज गरेको देख्दा मेरो मनमा पनि नेपालमा एउटा संस्था चाहिँ खारेज गर्नुपर्छ भन्ने लागेको छ । गएको दुई वर्षदेखि ग्वार्कोको ओभरपासको धराप भएर क्याम्पस जान्छु । त्यति सानो प्रोजेक्ट, जनताको स्वास्थ्य, स्थानीयको व्यवसाय सबैमा कति असर परेको छ, भनिसाध्यै छैन । यसअघि नक्खु –भैंसेपाटी सडक बनाउन ६ वर्ष लाग्दा यता पनि त्यही भएको थियो । उता नागढुंगा सुरुङ आज होला भोलि होला छैन । न नागढुंगाबाट सुरुङसम्म जाने बाटो राम्रो बनाउन हतार छ। गएको वर्ष दुईवटा गाडी त्यहाँ पहिराले निले । जताततै सडक मर्मत गर्दा जनतालाई सकेसम्म धेरै दुःख दिएको छ, अलपत्र सडक र जिर्ण पुल देशभरी छन् । प्रश्न सोध्दा सरकारले बजेट दिएन, मन्त्रीले सरुवा गर्यो भन्ने बहाना बनायो, सकियो । हाम्रो देशको बेस्ट ब्रेन भएका इन्जिनियरहरु भएको मन्त्रालयको क्षमता यही हो भने हाम्रो भविष्यको बारेमा गम्भीर भएर सोच्नुपर्ने बेला आयो ।
ऊर्जा मन्त्रालयमा जस्तो प्रगति सडकमा हुनै सकेन र अब यो स्थिति लामो जानुहुँदैन । यसको प्रथम विन्दु भनेको साविक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको खारेजी नै हो ।
विकल्प के त ?
एक्प्रेस–वे र टनेल (काठमाण्डुमा मेट्रो बनाउन अतिआवश्यक भएकोले उक्त मेट्रो पनि) जति अब सिधै प्रधानमन्त्रीको कार्यालयमा राखिदिउँ । कुनै विशेष समुह बनाएर त्यहाँ अन्तर्राष्ट्रिय बोलकबोलबाट अनुभवी प्रशासक तथा प्रोजेक्ट म्यानेजर ल्याऔं । खर्बौंका आयोजनामा राम्रो तलब नदिए गतिला म्यानेजर आउँदैनन् । नेपाली हुन या विदेशी, राम्रो इन्जिनियर र प्रोजेक्ट म्यानेजर ल्याऔं । पानीजहाज, जलमार्ग र रेल कार्यालय खारेज गरिदिऔं । निर्वाचन क्षेत्र रणनीतिक सडक, वैकल्पिक सहायक राजमार्ग विकास जस्ता कार्यक्रम प्रदेशलाई दिऔं । साना र फाच्चेफुच्चे आयोजना पालिकाहरुलाई दिऔं ।
यसबाहेकको एउटा चुस्त सडक मन्त्रालय बनाऔं । अहिलेसम्म काम गरेका सबै आयोजना प्रमुखहरुको मूल्यांकन गरेर सबैभन्दा राम्रालाई प्रमुख उत्तर दक्षिण (कोशी, कर्णाली, गण्डकी, भेरी, सेती , मेची र महाकाली कोरिडोर) तथा पूर्वपश्चिम (हुलाकी, महेन्द्र, बिपी, पुष्पलाल र हिमाली राजमार्ग) पाँच वर्षभित्र सक्ने गरी जिम्मेवारी दिऔं । आयोजनाहरु बेलामा नसक्नेहरुलाई क्रिकेटले कोचलाई विदा दिए जस्तै विदा दिऔं । वर्षको खर्ब खर्ब खर्च गरेर देखाउन लायक एउटा पनि सडक नहुनु जति दुर्भाग्य केही हैन । अहिलेको संस्थाबाट हुँदैन।
पैसा ?
बैंकभरी पैसा हुँदा बिपी राजमार्ग मर्मत गर्न पैसा छैन भन्नु भनेको खाली प्रकृयाको कुरा मात्र हो । प्रकृयाको कुरा देखाएर अल्झाउन अघि सर्ने तर समाधान नखोज्ने सवै कर्मचारीलाई आजै विदा दिऔं । राजनीतिज्ञहरुलाई विगार्ने यिनै हुन् ।