टोरेसको ह्याट्रिकमा बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी । स्ट्राइकर फेरान टोरेसको ह्याट्रिकको मद्दतमा क्याटलान क्लब बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा पुगेको छ । बिहीबार राति भएको क्वाटरफाइनल खेलमा भ्यालेन्सियालाई ५-० गोलले हराउँदै बार्सिलोनाले अन्तिम चारमा स्थान बनाएको हो ।

इस्टाडियो डे मेस्टालामा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन टोरेसले ह्याट्रिक पूरा गर्दा फेर्मिन लोपेज र लामिने यामालले समान एक/एक गोल गरे । खेलको तेस्रो मिनेटमै एलेक्स बाल्ड़ेको पासमा टोरेसले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । १७ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

२३ औं मिनेटमा पेड्रीको पासमा लोपेजले गोल गर्दा बार्सिलोना सहज जिततर्फ अगाडी बढेको थियो । ३० औं मिनेटमा टोरेसले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरेर बार्सिलोनालाई पहिलो हाफमा ४-० गोलको अग्रता दिलाएका थिए ।

५९ औं मिनेटमा राफिन्हाको पासमा यामालले गोल गर्दै बार्सिलोनालाई ५-० गोलको अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना विजयी भएको हो ।

यस्तै गएरातिनै भएको अर्को खेलमा ओसासुनालाई २-० गोलले हराउँदै रियल सोसिडाड सेमिफाइनलमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *