४ दशमलव ६ मेगावाटको सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि ऋण लगानी सम्झौता

काठमाडौँ । गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४ दशमलव ६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैङ्कले ऋण लगानी गर्ने भएको छ ।

बिहीबार आयोजित कार्यक्रममा बुढीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कूल ९६ करोड ३८ लाख ३० हजार लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी हुने कम्पनीका प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

प्रवद्र्धक कम्पनीका अनुसार वाणिज्य बैङ्कले ६७ करोड ४६ लाख ८० हजार लगानी गर्नेछ । बाँकी २८ करोड ९१ लख ५० हजार स्वपूँजी लगानी हुनेछ ।

करिब १८ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाबाट वार्षिक २७ दशमलव ३७९ गिगावट आवर विद्युत् उत्पादन हुनेछ । वर्षायाममा १८ दशमलव ६२१ गिगावट आवर र हिउँदमा ८ दशमलव ७५ गिगावाट आवर बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।

आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच गत असार २१ गते विद्युत् खरिदबिक्री सम्झौता भएको थियो । आयोजनाबाट उत्पादित विद्युत् विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सवस्टेसनमा जोडिने छ ।

ऋण लगानी सम्झौता पश्चात कम्पनीका अध्यक्ष न्यौपानेले नेपालको विकासका लागि जलविद्युत क्षेत्रमा लगानी बढाएर लैजानुपर्ने आवश्यकता बोध गरी आयोजना निर्माण गर्न लागिएको बताए । उनले लगानीकर्ता डुब्न नदिने र समयमै पर्याप्त प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरे ।

वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत खनालले निजी क्षेत्रले ऊर्जा क्षेत्रमा फड्को मार्नुपर्नेमा जोड दिँदै राबा बैङ्कले सुरुवातदेखि नै जलविद्युत क्षेत्रमा लगानी गर्दै आइरहेको बताए । उनले वित्तीय अनुशासनमा रहेर निर्धारित अवधिमा आयोजना सम्पन्न गर्न कम्पनी सफल हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मुलुकमा लागनीमैत्री वातावरण बनाउन, स्वदेशी लगानीकर्तालाई उत्साही बनाउन आफ्नो तर्फबाट सधैँ सहयोग रहने विश्वास दिलाए ।

जलविद्युत् क्षेत्रमा अनुभव हासिल गरिसकेको सो समूहले ४ दशमलव ५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । यसैवर्ष थप २२ मेगावाट क्षमताको जल्दीगाढ जलविद्युत् आयोजना निर्माण गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *