राष्ट्रियसभा अध्यक्षद्वारा विपिनको रिहाइका लागि पहल गर्न इजरायली राजदूतलाई आग्रह

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गरेका छन् ।

सोमबार आफूसँग भेट गर्न आएका नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बाससँग दाहालले जोशीको रिहाइका साथै इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षा र रोजगारीका विषयमा ध्यान दिन आग्रह गरेको अध्यक्ष दाहालका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए ।

भेटमा उनीहरूबीच दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा विचारविमर्श भएको प्रेस संयोजक मल्लले बताए ।

भेटमा राजदूत श्मुलिकले हमासको नियन्त्रणमा रहेका नेपाली युवा जोशीलाई छुटाउन इजरायलले निरन्तर पहल गरिरहेको जानकारी दिँदै सोमबार बिहान मात्रै विपिनका बुवालगायत परिवारका सदस्यलाई भेटेको सुनाए ।

हमासको आक्रमणलगत्तै नेपाल, थाइल्याण्ड र फिलिपिन्सले आफ्ना विद्यार्थीको उद्धार गरी ल्याएकामा अहिले थाइल्याण्ड र फिलिपिन्सका विद्यार्थी इजरायल फर्किसकेको, अब त्यस्तो घटना नदोहोरिने र उनीहरूको सुरक्षाको जिम्मा इजरायल सरकारले लिने राजदूत बासले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *