एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी फागुन ८ र ९ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।

बैठकमा पार्टीको संगठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, बामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग बनाइने मोर्चाबारे निर्णय गरिने छ ।

यही माघ ३० गते गर्ने भनिएको अधिवेशन केही दिनपछि गर्ने तालिका हेरफेर गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने बैठकमा पार्टीका नेताहरुलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी तथा कार्य प्रगतिको छलफल गरिने जनाइएको छ ।

बैठकमा सबै जनवर्गीय संगठनका कार्य प्रगति तथा ती संगठनका अधिवेशनबारे निर्णय गरिने छ । केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठकले राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदन पारित गर्ने छ । केन्द्रीय कमिटी बैठकको अन्य एजेण्डा, कार्यसूची अनुमोदन स्थायी कमिटी बैठकले तय गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *