सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न नसकेको एकीकृत समाजवादीको ठहर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेपाली कांग्रेस र नेकपा एमालेको वर्तमान सत्ता गठबन्धनलाई अराजनीतिक साँठगाँठको संज्ञा दिएको छ ।

पार्टीका निर्णय र अन्तरपार्टी निर्देशन जारी गर्दै एकीकृत समाजवादीले सत्ता गठबन्धनको अयोग्यताले आम असन्तुष्टि बढ्ने निष्कर्ष निकालेको हो । उसले सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न नसकेको ठहरसमेत गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार देश र जनताको हित प्रतिकूल निरंकुश ढंगले अगाडि बढिरहेको एकीकृत समाजवादीले बताएको छ ।

एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘संसदलाई छलेर अध्यादेशमार्फत सत्ता सञ्चालन गर्दैछ। यसले भ्रष्टाचार नियन्त्रण गर्ने होइन भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने काम गरेको छ । देशमा महंगी अकासिएको छ तर सरकार मूल्य नियन्त्रण गर्ने होइन व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर दलाल व्यापारीको पक्षमा उभिएको छ। यसले किसानका समस्या समाधान गर्ने होइन भूमाफियाले हदभन्दा बढी जमीन प्लटिङ (खण्डीकरण) गरेर बेच्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर जग्गा दलाल र भूमाफियाको हितमा काम गर्दैछ ।’

त्यस्तै उसले सरकारले अन्तराष्ट्रिय सम्बन्ध सन्तुलित राख्न नसकेको आरोप पनि लगाएको छ । अपानिमा भनिएको छ, ‘सरकारका यस किसिमका गतिविधिले गर्दा आम जनतामा राज्य र सरकारप्रति चरम निराशा उत्पन्न भएको छ । हाम्रोसमेत पहलकदमीमा संसदमा रहेका प्रतिपक्षी दलहरू सरकारका उपयुक्त गलत क्रियाकलापका विरुद्ध उभिएका छन् र बैठक बसी छलफल गरेर संयुक्त वक्तव्यमार्फत् साझा धारणा सार्वजनिक गरेका छन् ।’

त्यस्तै एकीकृत समाजवादीले एमालेको सैद्धान्तिक जडता र विसङ्गतिबाट सङ्गठनात्मक निराशा र पलायनतर्फ उन्मुख भएको निष्कर्षसमेत निकालेको छ ।

अपानिमा भनिएको छ, ‘नेकपा (माओवादी केन्द्र) मा सैद्धान्तिक गतिरोध जस्ताको तेस्तै छ । आजकै अवस्था रहन दिनु कम्युनिष्ट आन्दोलनका लागि खतरनाक हुनसक्छ । यस परिस्थितिमा मुलुकको कम्युनिष्ट आन्दोलनले एउटा जिम्मेवार र शक्तिशाली हस्तक्षेपको माग गरिरहेको छ । त्यसका लागि समय कम हुँदै गएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *