जीविकोपार्जनको स्पष्ट आधार नभएको नेतृत्वले देशलाई अँध्यारो सुरुङतिर मात्र धकेल्न हो

अमित खनाल ।
विना पेशा र व्यवसाय भएका नेताहरू राजनीति गर्नुभन्दा अगाडि खाली डुंगा जस्तै हुन्छन्, जसमा न गन्तव्यको स्पष्टता हुन्छ, न त आफ्नो यात्राको उद्देश्य नै । यस्ता नेताहरू राजनीतिलाई सेवा होइन, व्यापारको रूप दिन्छन्, जहाँ लाभकै लागि पद र शक्तिको सौदाबाजी हुन्छ। जब नेताको आफ्नो आर्थिक आधार हुँदैन, उनीहरू सार्वजनिक स्रोतलाई आफ्नो व्यक्तिगत साधन बनाउने प्रयास गर्छन्।
नेपालको सन्दर्भमा धेरै नेताहरूको कथा यस्तै छ, जसले पेशा, अनुभव, र व्यावसायिक योग्यता विना राजनीति सुरु गरे । उनीहरूको सम्पत्ति रसमय रूपमा वृद्धि भयो, जबकी देशको जनताले गरिबी, बेरोजगारी, र विकासको अभाव झेलिरहनुपरेको छ । यो बिलकुल त्यस्तै हो, जस्तो कि कुनै किसानले आफ्नो खेतको रगत–पसिना बगाएर उब्जाएको अन्नलाई, एकजना अनैतिक व्यापारीले लुटेर बजारमा मुनाफा कमाउँछ।

उदाहरणका लागि, विकास बजेट कटौती गरेर नेताहरूले आफ्ना घर र गाडी सजाउने काम गरिरहेका छन्, जबकी जनताले ती विकास परियोजनाका लागि दशकौं कुर्नुपर्छ । विदेशी अनुदानको अपारदर्शी वितरणदेखि, ठूला परियोजनामा नातावाद र कृपावादका आधारमा ठेक्का दिने काम सामान्य भएको छ। यस्ता घटनाले राष्ट्रलाई त्यस्तै कमजोर बनाउँछ, जस्तै कुनै बिरुवाको जरामा दीमकले बिस्तारै बिस्तारै क्षति पुर्याउँछ।

भारतमा लालू प्रसाद यादवको चारा घोटाला एक क्लासिक उदाहरण हो । राजनीतिमा प्रवेश गर्नु अघि ठोस पेशागत अनुभव नभएका यादवले सरकारी स्रोतको दुरुपयोग गरी करोडौंको भ्रष्टाचार गरे । त्यस्तै, पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफमाथि पनि पनामा पेपर्स प्रकरणपछि आफ्नो अवैध सम्पत्तिको स्रोतबारे स्पष्ट पार्न नसकेको आरोप लाग्यो। यी नेताहरूले सत्ता र शक्तिलाई व्यक्तिगत सम्पत्ति आर्जनको माध्यम बनाएका थिए, जसले देशको आर्थिक व्यवस्थामा गहिरो असर पार्यो ।

यस्तै, विश्वभरका धेरै अधिनायकवादी नेताहरू, जसको पेशागत पृष्ठभूमि छैन, तानाशाही शैली अपनाउँदै आफ्नो शासनकालमा भ्रष्टाचारलाई संस्थागत गरेका छन् । यस्तो नेतृत्व त्यस्तै हो, जस्तो कमजोर जरा भएको रूख, जसले आफ्नो छायामा सबैलाई राख्न खोजे पनि समयसँगै आफैं ढल्छ। नेताहरूले पारदर्शिता, व्यावसायिक योग्यता, र आफ्ना स्रोतहरूको स्पष्टता बिना राष्ट्रलाई केवल क्षतिको बाटोमा लैजान सक्छन् ।
जब नेतृत्वमा पारदर्शिता र आफ्नो जीविकोपार्जनको स्पष्ट आधार हुँदैन, त्यो नेतृत्वले देशलाई केवल अँध्यारो सुरुङतिर धकेल्न सक्छ । नेताहरू किसान, शिक्षक, इञ्जिनियर, वा व्यवसायी भइकन राजनीतिमा प्रवेश गर्दा मात्र उनीहरूले जनताको पीडा बुझ्न सक्छन्, अन्यथा उनीहरू केवल सत्ता र शक्तिको दुव्र्यवहार गर्ने पात्र बन्छन्। यसैले, पेशा र व्यवसाय नै सच्चा नेताको आधारभूत पहिचान हुनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *