विजयकुमार पाण्डे ।
गएको आइतबारको कुरा हो । हामीले गाडी रोक्यौं । उनको नाम अमृता पुन रहेछ । उनको दोकानको नाम चाहिँ मेरै लागि राखिएको जस्तो लाग्यो– ‘पर्खाई हजुरको कटेज ।’ ‘के यहाँ वरिपरि ४० वर्षअघिदेखि बसेको कोही छ ? भेट्न चाहन्छु । सडक बनाउने क्याम्प थियो नि यहाँ ! म बस्थें त्यसमा !’
‘सप्पै मरिसके । म यहाँ सरेको ३० वर्ष भयो । सुनेको त छु , ठूलो क्याम्पा थियो रे यहाँ ! तर त्यसमा लोकल मान्छे त धेरै थोरै थिए । पाँच सात घर त हो ऊबेला । सप्पै मरिसके ।’ अमृता पुनले भावसुन्य मुद्रामा ‘सप्पै मरिसके’ भनिरहँदा म अतितमा फर्किएँ ।
चार दशकअघि पुल्चोक क्याम्पसमा पढाई सकेर म यो ठाउँ केही महिना बसेको थिएँ । मसोट खोला । त्यसबखत यहाँ ५, ७ झोपडी थिए । गाईभैंसीका गोठ थिए । जंगल थियो । अरु केही थिएन । लमही–तुल्सीपुर सडक निर्माण गर्न हामीहरु आएपछि , यो अन्कन्टार जंगल गुल्जार भयो ।मसोट खोलामा मेरो बसाई लम्बाईका हिसाबले छोटै हो । चार पाँच महिना । तर मनमा धेरै गहिरो बसेको छ त्यो चार, पाँच महिनाको छाप । हुन त आज पनि त्याहाँ खासै केही छैन, मसोट खोलाको पुल छेउ दुई चार घर । जंगल ।
हामी बसेको ठाउमा क्याम्प थियो रे भन्ने कथाबाहेक केही बाँकी छैन आज .. तर पनि म नोस्टाल्जिक हुन्छु त्यहाँ .. जीवन भनेको सम्झना नै सम्झनाले बनेको मालाबाहेक के पो हो र !
मसोट खोलासँग सम्बन्ध लामो होइन, जम्मा ४ , ५ महिना हो तर मान्छेको सम्बन्ध र बिताएको समयको महत्वको मापन त्यसको लम्बाईबाट होइन, गहराइबाट हुन्छ । मसोट छोडेको वर्षौंपछि मैले आफ्नो पहिलो किताब ‘खुसी’ मा यसरी लेखेंः
‘मैले मदिरा पिउन सुरू गरें, दाङको मसोट खोलामा । त्यो खोलाछेउको बसाइ मेरो जीवनमा परिवारबाहिरको पहिलो एक्लो बसाइ थियो । सडक बनाउन त्यहाँ एउटा ठूलै क्याम्प बसेको थियो । उडिसाबाट ल्याइएका आदिवासी मजदुर थिए । बलिष्ठ शरीर, कालो रङ, ज्यादै खट्न सक्ने । रोल्पा रूकुमबाट आएका मजदुर, ठेकेदारका मान्छे, सडक विभाग र कन्सल्टेन्टका इन्जिनियर, ओभरसियर । ठूलै मेला थियो मसोट खोलामा । त्यहाँ साँझ पर्नेबित्तिकै प्रायः सबैले मद्यपान थाल्थे ।
मजदुरहरु मादल बजाउँदै, नाच्दै, आफैंले बनाएको ‘लोकल’ तान्थे । जुनेली रातमा निलो आकाशलाई साक्षी राखेर निर्भय, निसङ्कोच र मदमस्त तरिकाले जब उडिया आदिवासीहरु मादलको तालमा बगरको सेतो बालुवामाथि नाच्थे, एक दुर्लभ दृश्य बन्थ्यो ।सुनसान जङ्गल, जुनेली रात, सेतो बगरको पृष्ठभूमि, घन्किरहेको मादलमा मिश्रित खोलाको आवाज, मदिराले मस्त सुगठित शरीरका कालाकाला महिला र पुरूष आदिवासीको उन्मत्त नृत्य ! वाह, क्या दृश्य थियो ! हलिउड फिल्ममा देखाइने अफ्रिकाको नजाराजस्तो !
मसोट क्याम्पमा प्रायः सबै मापसे गर्थे । पिउने ब्रान्ड र स्थान मात्र फरक थियो । हामी साबहरुचाहिँ प्रायः कोठामै र कहिलेकाहीँ बरन्डामा बसेर छ्याङ वा बियर खान्थ्यौं । मसोट खोला गर्मी ठाउँ थियो, बिजुली थिएन । तैपनि हामीसित छ्याङ र बियरलाई चिसो पार्ने जुक्ति थियो ।
हामी छ्याङ वा बियरको सिसीलाई मसोट खोलाको बगरमा खाल्डो खनेर बालुवाले पुरेर छाडिदिन्थ्यौं । बगिरहेको खोलाछेउ बालुवामा पुरिएका ती सिसी दुईतीन दिनपछि झिक्दा पूरै ‘चिल्ड’ भइसक्थे … ‘( खुसी , पृ २२ )
केही दिन अघिको कुरा हो , म मसोट खोला पुल छेउ रोकिए , अमृता पुनलाई भेटे । मसोट खोलामा पानी धेरै घटेको महसुस भयो । तर मेरो मनमा संम्झनाको बाढी आउदै थियो … त्यो कच्ची बाटो जहा ट्याक्टर वा ‘फोर व्हिल’ बाहेक अरु गाडी चल्न सक्दैनथे , बर्खामा त्यो पनि मुश्किल … आज पिच रोडमा ससाना कार कुदेको देख्दा खुसी लाग्यो । सम्झे ती दिन जब हामी , रोड डिजाइन पेपर बोकेर भीरहरुमा चिनो लगाउथ्यौ …
पहिला गाउमा मान्छे धेरै थिए, विकास थिएन । अहिले गाउँमा थोरबहुत सुविधा छ , तर मान्छे धेरै छैनन् । मसोट खोलाबाट ३० मिनेटमा घोराही पुगियो । करिब ४० बर्ष मैले त्यही दुरी , पौने चार घन्टामा पुरा गरेको थिएँ – ‘११ नम्बर’ को गाडी चढेर ।केही दिन अघि घोराहीको झिलिमिलि देखेर मैले पत्याउन सकिन – यो त्यही घोराही हो, जहाँ हामी मसोटबाट हिँडेर आउनेजाने गथ्र्यौ । त्यो बेलासम्म नेपालीहरु ट्रेकिङ हाइकिङ गर्दैनथे । काम परे ‘११ नम्बर’ गर्थे ।
घोराही बजारमा युवा लालबहादुर मगरले मसँग ‘सेल्फी’ मागे । उनी त्यही रात , घोराही छोडेर काठमाडौं जाने नाइट बस समात्ने चटारोमा रहेछन् । उनको भिसा लागेको छ रे !‘विजय सर म हिजो रोल्पाबाट यहा आएँ । आज निस्कदैछु यहाँबाट । तपाई कहासम्म ?’
‘म चाहिँ ४० वर्षअघि हिँडेका गोरेटा खोज्दैछु । जीवन र जगत कहाँसम्म पुगेछ भनेर हेर्दैछु , मनमनै सोच्दैछु .. जीवन बुझ्न पछाडी फर्कनु पर्छ । तर जीवन बाँच्न अगाडी हेर्नुपर्छ ।’ ‘विजय सर जीवन बुझ्न बढ्ता जरुरी छ कि जीवन बाच्न जरुरी छ ?’ ‘दुबै जरुरी छन् , आआफ्नो उमेर र अवस्था अनुसार !’ ‘एउटा छान्नु परे के छान्नु हुन्छ सर ?’ ‘अहिले ठ्याक्कै भन्न सकिएन यार ! म भोलि स्वर्गद्वारी मन्दिर जाँदैछु । पहिला हिँडेर गएको थिएँ , यसपटक मोटरमा जाँदैछु । हिँडेर जानु र गुडेर जानुबीचको अनुभव गर्न चाहन्छु । तपाईंको यात्रा शुभहोस् साथी ।’ ‘विजय सरको यात्रा पनि शुभ होस् !’
