बास्तोला पक्राउको विरोधमा विप्लव समूहद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलासहितका नेताको पक्राउविरुद्ध आन्दोलन घोषणा गरेको छ ।

पार्टी महासचिव विप्लवले बिहीबार विज्ञप्ति जारी गरी ५ दिने आन्दोलनको घोषणा गरेका हुन् । विज्ञप्तिमा ३ माघमा देश व्यापी विरोध जुलुस, ५ गते विरोधसभा, ७ गते विरोध प्रदर्शन, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको छ ।

‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो’विज्ञप्तिमा भनिएको छ ।

प्रहरीको विशेष ब्युरोले बिहीबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट बास्तोलासहित नेता विवेक कुमाल र रोजन रखाललाई पक्राउ गरेको थियो । उनीहरुलाई ललितपुर प्रहरीको हिरासतमा राखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *