रवि काठमाडौं प्रहरीको हिरासतमा

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ ।

आइतबार अदालतमा उपस्थित भएका लामिछानेलाई जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो ।

आइतबार अदालतमा उपस्थित भएका लामिछानेको दिनभर बयान चलेको थियो । लामिछानेको बयान सकेर अदालतमा बहसका लागि उनका पक्षका कानुन व्यवसायी पुगेपनि सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आज बहस गर्न नसक्ने इजलासमा बताएपछि उनलाई प्रहरीको जिम्मा लगाउन आदेश भएको हो ।

अदालतको आदेशपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।

उनी पुस २५ मा कास्की अदालतबाट ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए । आफैं अदालतमा उपस्थित हुने बताएपछि उनलाई प्रहरीले पुनः पक्राउ गरेको थिएन ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध ५ करोड ८ लाख बिगो दाबी गर्दै सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *