‘जेनेरिक औषधि’को भ्रम र यथार्थ

काठमाडौँ । उपभोक्तालाई सुपथ मूल्यमा औषधि उपलब्ध गराउन र कुनै एक कम्पनीको नाम नतोकी जेनेरिक औषधि सिफारिस गर्ने व्यवस्था लागू गराउन कार्यविधिका लागि ‘जेनेरिक’ औषधि सुझाव समिति गठन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अग्रसरतामा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल संयोजक रहने पाँच सदस्यीय समिति समिति गठन गरिएको हो । चिकित्सक तथा स्वास्थ्यकर्मीले औषधि सिफारिस गर्दा अनिवार्य रूपमा जेनेरिक नाम लेख्नका लागि सरल ढाँचासहितको कार्यविधि तर्जुमा गर्न र अन्य अस्पतालमा जेनेरिक औषधिको नाम लेख्नका लागि गरिएका अभ्यास अध्ययन गरी एक महिनाभित्र सिफारिस गर्नसमेत समितिलाई अख्तियारी दिइएको छ ।

समितिले अस्पतालको फार्मेसीमा सबै किसिमका गुणस्तरीय औषधि सुपथ तथा सरल मूल्यमा नागरिकले पाउने व्यवस्था मिलाउन सुझावसमेत दिनेछ । सोही सिफारिस तथा सुझावका आधारमा आवश्यक निर्णय गरिने जनाएको छ ।

हाल चिकित्सकले औषधिको ‘ब्राण्ड’ नाम लेख्ने र सोही नामका औषधि किन्नुपर्ने बाध्यता छ । जेनेरिक औषधि सिफारिस गर्न सकिएमा सोही कम्पनीको सुपथ मूल्य खरिद गर्न उपभोक्तालाई सहज हुने विश्वासका साथ ऐनमा भएको व्यवस्था लागू गराउन मन्त्री पौडेलले सक्रियता देखाएका हुन् । अब यो समितिको सुझावपछि आमनागरिकले सुपथ मूल्यमा गुणस्तरीय औषधि पाउँछन् त ? अनि नेपालमा जेनेरिक औषधि उत्पादन हुन्छ कि हुँदैन त ? आमउपभोक्तलाई यसबारे धेरै काममात्र थाहा हुन्छ ।

मन्त्रालयले उपभोक्तालाई सुपथ मूल्यमा औषधि उपलब्ध गराउन सुझाव समिति गठन गरेपछि न्यूरोसर्जन डा. सन्देश दाहालले यसबारे भ्रम र यथार्थ प्रस्तुत गरेका छन् ।

जेनेरिक औषधिका भ्रमहरुः
१. नेपालमा पाइने औषधिको गुणस्तर एउटै छ ।
२. डाक्टरले जेनेरिक लेख्यो भने बिरामीले सस्तो दाममा औषधि पाउँछ ।
३. नेपालमा जेनेरिक औषधि पाइन्छ ।
४. नेपालका औषधि पसल फार्मासिष्टले चलाउँछन् ।
यथार्थ
१. नेपालमा जेनेरिक औषधि उत्पादन नै हुँदैनन् । सबै ब्रान्डेड जेनेरिक हुन् ।
२. नेपालका बजारमा पाइने औषधिको गुणस्तरमा आकाश पातालको फरक छ ।
३. नेपालको हकमा डाक्टरले जेनेरिक औषधि लेख्नुको अर्थ औषधि छान्ने जिम्मा डाक्टरको हातबाट औषधि पसलेको हातमा दिनुमात्रै हो । अरु केही होइन ।
४. नेपालमा प्रायःजसो औषधि पसल फार्मासिष्टले होइन, औषधि पसलेले चलाउँछन् । एउटै फार्मासिष्टको सर्टिफिकेट ४–५ ठाउँमा किनेर टाँग्ने चलन छ ।
५. औषधि पसलेले जेनेरिक लेख्दैमा सस्तो र राम्रो औषधि दिँदैनन् । आफूले नाफा ज्यादा पाउने औषधि दिन्छन् । तर डाक्टरले कम गुणस्तरको औषधि लेख्न मिल्दैन किनभने बिरामी सन्चो भएन भने उसकै टाउको दुख्ने हो ।
६. औषधि पसल र बिरामीको सम्बन्धको केही आयाम हुँदैन, पैसा तिर्यो बिल लियो सकियो । सन्चो नभए बिरामी औषधि पसलमा जाँदैन ।
जेनेरिकको बिरोध गर्नु हुँदैन, गर्ने कुरै आउँदैन
तर निम्न पुर्वाधार चाहियो ।
१. गुणस्तर र औषधिको दाम समान बनाउने ।
२. फार्मासिष्टले मात्र औषधि वितरण गर्ने, पसलेले होइन ।
३. औषधि कम्पनीलाई जेनेरिक औषधि नै बनाउन लगाउने, ब्रान्ड नाम नलेखिकन ।
४. औषधि अत्यावश्यक सेवा बनाएर यसको मार्केटिङ र व्यापारिक उद्देश्य पूर्णरुपमा बन्द गर्ने गराउने ।
टल्किने कुरा सबै सुन हुँदैनन् । जेनेरिक औषधिको बहस जति लोककल्याणकारी देखाउन खोजिँदैछ, वास्तविकता त्यस्तो हो जस्तो लाग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *