कांग्रेसले निर्वाचनमा भाग लिन्छः उपसभापति निधि

धनुषा । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताएका छन् ।

सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने भन्दै उनले संसद् पुनःस्थापना हुने वा नहुने विषयमा सर्वोच्च अदालतले गरेको निर्णयलाई नै सबैले आत्मसात् गर्नुपर्ने बताएका हुन् ।

जनकपुरधाम–४ स्थित पार्टी कार्यालयमा सोमबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति निधिले भने, “सर्वोच्च अदालतले जे व्याख्या गर्छ, त्यसलाई सबैले स्वीकार गर्नुपर्छ ।” निधिले सर्वोच्चले संसद् विघटनलाई सदर गर्दै मध्यावधि चुनाव गर्ने निर्णय गरे कांगे्रस चुनावमा जान तयार रहेको बताए ।

उनले निर्वाचनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिँदै भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानको रक्षा गर्न पनि निर्वाचनमा भाग लिनुपर्छ, निर्वाचनको विरोध गर्नु भनेको अज्ञानता र अपरिपक्वता हुन्छ ।” निधिले जनता नै आफूहरूको सबैभन्दा ठूलो अदालत भएकाले निर्वाचनमा जानसमेत आफूहरू तयार रहेको स्पष्ट पारे । उनले गणतन्त्र र सङ्घीयता उल्टाउने कोसिस गर्नेहरू आफैँ परास्त हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *