काठमाडाैँ । पोखरामा दोस्रो संस्करणको नेपाल चीन मैत्रीपूर्ण ड्रागन डुङ्गा दाैड प्रतियोगितामा २० समूहले सहभागिता जनाउने भएका छन् । यही पुस १३ देखि १५ (डिसेम्बर २८–३०) सम्म पोखराको फेवातालमा महोत्सवका रूपमा सञ्चालन गर्न लागिएको प्रतियोगितामा नेपालका ११, चीनका ८ र सिङ्गापुरको १ गरी कुल २० समूहको सहभागिता रहने आइतवार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइइको छ ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह आयोजनामा हुने प्रतियोगिताको विजेताले नगद ५ हजार डलर (नेपाली करिब ६ लाख ७९ हजार रुपैयाँ), उपविजेताले २ हजार डलर (नेपाली करिब २ लाख ७१ हजार रुपैयाँ), तृतीय हुनेले एक हजार २ सय डलर (नेपाली करिब १ लाख ६३ हजार रुपैयाँ) र प्रतियोगितामा सहभागी बाँकी १७ वटा समूहलाई ५ सय डलर (नेपाली करिब ६८ हजार रुपैयाँ) पुरस्कार दिइनेछ ।
मित्रराष्ट्र चीनमा अत्यन्त लोकप्रिय रहेको ऐतिहासिक ड्रागन डुङ्गा दाैड प्रतियाेगिताअन्तर्गत गत वर्ष पोखराको फेवा तालमा अन्तर्राष्ट्रियस्तरकाे प्रतियाेगता सम्पन्न भएकाे थियाे । त्यसैगरी बेगनास तालमा राष्ट्रिय स्तरकाे प्रतियाेगिता सञ्चालन गरिएकाे थियाे । नेपालमा ड्रागत डुङ्गा संघसमेत स्थापना भइसकेकाे छ ।
चीनले यस खालका प्रतियोगिता विश्वका ५० वटा देशमा आयोजना गर्ने गरेको छ ।
पत्रकार सम्मेलनमा नेपालका लागि चिनियाँ राजदुतावासका नियाेग उपप्रमुख वाङ सिनले प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुनाको साथै नेपालको पर्यटन प्रर्वद्धन हुने अपेक्षा राखिएको बताए । उनले नेपालको पर्यटन प्रर्वद्धन गर्न चीन सधैं सकारात्मक रहेको उल्लेख गरे । उनले यस पटककाे प्रतियाेगिता थप राेमाञ्चक र प्रभावकारी बनाउन सम्बन्धित निकायहरूसँग सहकार्य गरिएकाे जानकारी दिए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार पनि भएको उल्लेख गर्दै ड्रागन वोट रेसले पोखराको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए । उनले ड्रागन वोट रेसले पोखराको पर्यटनमा नयाँ आर्कषण समेत थपेको उल्लेख गरे ।
चिनियाँले मनाउने यस पर्वलाई सन् २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ । चीनमा प्रचलित चन्द्र पात्राेअनुसार पाँचौं महिनाको पाँचाैँ तिथीमा चीनमा ड्रागन बोट फेष्टिभल मनाइन्छ । चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यस चाड मनाउने परम्परा रहेको छ । यस चाड मनाउन चीन सरकारले तीन दिनकाे सार्वजनिक विदा समेत दिने गरेकाे छ ।
चिनियाँ भाषामा ‘तुवान उ चे’ भनिने ड्रागन बोट फेष्टिभल चीनको चार वटा ठूला चाडमध्ये एक हो । चीनमा ड्रागनलाई सकारात्मक शक्तिको रूपमा लिइने गरिन्छ ।
नेपाल पयर्यटन बाेर्डकाे तथ्याङ्कअनुसार, सन् २०१९ मा चीनबाट १ लाख ६९ हजार ५३४ जना र २०२३ मा ६० हजार ८७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२४ को जनवरी देखि नोवेम्बरसम्म ९२ हजार ८४८ जना चिनीयाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।