झापा । विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी झापा कपको आजको खेलमा न्युरोड टिम (एनआरटी) क्लबले इटहरीको राष्ट्रिय जागृति क्लबलाई ‘टाइब्रेकर’मा ३–० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको छ ।
आजको यो जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको छ । खेलको निर्धारित समयसम्म कुनै पक्षले गोल नगरेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।
टाइब्रेकरमा एनआरटीका एञ्जल महर्जन, कृतिश छुञ्जु र अभिषेक लिम्बूले गोल गरेका हुन् । जागृतिका कप्तान प्रवेश दनुवार र सविन घिमिरेको प्रहार गोलरक्षक विशाल सुनारले विफल बनाएका थिए ।
खेलको ‘प्लेयर अफ दी म्याच’ विजेता टिम एनआरटीका गोलरक्षक सुनार भएका थिए । उनले नगद रु १० हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा नेपाल र भारतका १० टोलीको सहभागिता रहेको थियो । आयोजक झापा–११ सहित भारतको जिटिए दार्जिलिङ, गोर्खा ब्वाइज रुपन्देही, एलएक्स सिटी मोरङ, राष्ट्रिय जागृति क्लब इटहरी, सलहेश युथ क्लब सिरहा, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी क्लब काठमाडौँ र चित्लाङ एफसी काठमाडौँ सहभागी भएका थिए ।