जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग च्याम्पियन

काठमाडौं । पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । शनिबार दिउँसो भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि जितेको हो ।

उपाधिसँगै जनकपुरले एक करोड १० लाख रुपैयाँ हात पारेको छ भने उपविजेता सुदूरपश्चिमले ५१ लाखमा चित्त बुझाएको छ ।

जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । जनकपुरको लागि ओपनर लाहिरु मिलान्थाले शानदार ब्याटिङ गर्दै ८७ रन बनाए । उनले ४९ बलमा ९ चौका र ४ छक्का हिर्काए । यस्तै आसिफ शेखले १९ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३३ रन बनाउँदा हर्ष ठाकुरले ३० रन बनाए ।

सुदूरपश्चिमको लागि स्कट कुग्गेलेजन, दीपेन्द्र सिंह एरी, सैफ जैब र इशान पाण्डेले समान एक/एक विकेट लिए ।

यसअघि टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो । सुदूरपश्चिमको लागि ओपर सैफ जैबले सर्वाधिक ६९ रन बनाए । उनले ४३ बलमा ८ चौका र २ छक्का हिर्काए । विनोद भण्डारीले ३१ बलमा ३ चौका र एक छक्काको मद्दतमा ४१ रन प्रहार गरे । यस्तै हर्मित सिंह र ब्रान्डोन म्याकमुलेनले समान १४/१४ रन बनाउँदा स्कट कुग्गेलेजनले समान १३/१३ रन बनाए । सुदूरपश्चिमका अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

जनकपुरको लागि किशोर महतो र मोहम्मद मोहसिनले समान तीन/तीन विकेट लिँदा जेम्स नशाम र ललित राजवंशीले एक/एक विकेट लिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *