जेपी गुप्ता ।
सर्वोच्च अदालतको आलोचना बखेडाको विषय हो । तपाईं यदि प्रजातान्त्रिक शासन व्यवस्थालाई मान्नुहुन्छ भने जस्तो मनसायको भएपनि, जसको खटन–पटनमा चले पनि भन्नै पर्ने हुन्छ कि ‘अदालत स्वतन्त्र छ ।’ सभ्य शासन व्यवस्था अन्तर्गतको सभ्य नागरिक भई रहनका लागि तपाईं अदालतको चोटबाट ब्रम्हनालमा लम्पसार परे पनि जीवन अन्त्य अघिको अन्तिम वाक्यांश यही बोल्नु हुनेछ कि–’म अदालतको आदेशलाई शिरोधार्य गर्दछु।’ के विकल्प रहन्छ र ?
प्रचण्ड अदालतको रूपान्तरणको पक्षमा कहिल्यै उभिएनन् । संविधानसभाको गहन छलफलको क्रममा उनले कहिल्यै अदालतको संरचनाबारे गम्भीर रहेनन् । उनले यथास्थितिको अदालतमा जहिल्यै पनि आफ्नो सामुदायिक तथा बृहत्तर अर्थमा ‘नेपालीयता’को संरक्षण गरिरहने ‘शक्तिको स्रोत’ देखे । यसर्थ, नयाँ संविधानमा प्रचण्डको एजेण्डा पुरानो संरचनाको कपीपेष्ट नै रह्यो। उनले कपीपेष्टलाई नै उपयुक्त बाटो सम्झे ।
बरू अदालतमा उनको खेल पहिलो कार्यकालमा सुशीला कार्कीहरूलाई प्रवेश गराउनुमा केन्द्रित रह्यो । त्यही मन्त्रिमण्डलमा रही म साक्षी छु, देव गुरुङको खल्तीको चिर्कटो खोल्न लगाएर उनले सुशीलाहरूलाई छिराए । यस पछिको समयमा प्रचण्ड झन् माझिएको खेलाडीको रूपमा जेष्ठ बरियताको क्रममा रहेका मीनबहादुर रायमाझीलाई प्रधानन्यायाधिश सिफारिस गर्नु पर्नेमा तेस्रो बरियतामा रहेका खिलराज रेग्मीलाई बनाउन खोजे । महाशयहरू, यो सुनेको कुरा हैन, मैले स्वयं भोगेको कुरा हो। त्यस संवैधानिक परिषदमा म पनि एक सदस्य थिएँ, जहाँ आजका राष्ट्रपति रामचन्द्र पौडेल पनि सदस्य नै रहनु भएको थियो । समय आएपछि म खिलराज र सुशीला दुबैको कोप भाजनमा परें । यो अर्कै प्रसंग हो, यता नजाउँ ।
यस्तै यस्तै खेल रह्यो प्रचण्डको प्राथमिकतामा । राज्य रूपान्तरणका सबै राजनीतिक पक्षहरू प्रचण्डबाट पन्छाइए । अन्ततः उनीसँग आज सरकार बनाउने तथा भत्काउने खेलको ‘म्याजिकल ज्ञान’ त छ । तर राज्यको रूपान्तरण गराउन सक्ने त्यो क्षमता जसको अनुभूतिले उनी आफूलाई ‘गौतम बुद्ध पछिको दोस्रो नेपाली सपूत’ भनेका थिए आज अदालतको यस आदेशबाट खुट्टा बजार्नुको सट्टा केही गर्न सक्ने सामर्थ्य छैन प्रचण्डमा।
उनी स्वयं समेतले गणतन्त्र तथा संघीयताको पक्षमा रहेको बलियो जनमतलाई थिलथिलो बनाए । यस काममा उनी काँग्रेस तथा एमालेका साथ साथै रहे। आज गणतन्त्र तथा संघीयता लगभग मरणासन्न छ। गोठबाट एक्लिएको च्याङ्ग्रालाई जंगलमा भोग्नु परेको लखेट्याई भोगेका पूर्वराजा आज नारायणहिटीमा फर्किने मनशायले कुर्लदै छन्। जनताको आशा मरेर यो हबिगत देखिएको हो। यसरी जनताको आश किन मरेर गयो ? यो खोजे हुन्छ प्रचण्डले ।
पुष्पकमल दाहालबाट ‘प्रचण्ड’को पलायनको प्रभाव थोरै मात्र भएपनि बदलिएको नेपालमा देखिनु स्वभाविक नै हो । यसैको एक छोटो प्रभाव अदालतमा पनि परेकै हो । अन्य सबै तिर परिरहेकै छ। मधेसको जागरण समाप्त भयो। आदिवासी–जनजातिको आन्दोलन साकेला तथा उभौलीमा बदलिएको छ। झन् दलित समुदायको के कुरो ! नियति सम्झेर बस्यो । काँग्रेस र एमालेसंग त्यो सामर्थ्य छ, उनीसँगको समझदारी बेगर अबको कुनै परिवर्तन सम्भव छैन। तसर्थ, उनीहरूको हीत सुरक्षित छ । अरूहरूको एजेण्डा’.?
