जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) को फाइनलमा पुगेको छ । बुधबार दिउँसो भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।

जितको लागि १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.३ ओभरमा दुई विकेटको क्षतिमा १ सय ४१ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । सुदूरपश्चिमको जितमा विनोद भण्डारीले अर्धसतक बनाए । उनले ५५ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाउँदा सैफ जैबले ३२, ब्रान्डोन म्याक्मुलेनले २५ र दीपेन्द्र सिंह एरीले नटआउट २० रन बनाए ।

जनकपुरको लागि ललित राजवंशी र किशोर महतोले समान एक/एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय रन बनाएको थियो । जनकपुरको लागि जेम्स नेशमले सर्वाधिक ४५ रन बनाए । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै शुभ कान्सकरले २६, लाहिरु मिलान्था र हर्ष थाकेरले समान १२/१२ तथा आसिफ शेख र अरनिको यादवले समान ११/११ रन बनाए ।

सुदूरपश्चिमको लागि दीपेन्द्र सिंह एरीले ४ ओभरमा २९ रन दिएर तीन विकेट लिंदा सैफ जैबले दुई तथा स्कट कुग्गेलेज्न र अविनाश बोहोराले समान एक/एक विकेट लिए ।

जितसँगै सुदूरपश्चिम फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । यता जनकपुरले भने फाइनल पुग्ने दोस्रो मौका पाउनेछ । जनकपुरले भोलि हुने दोस्रो क्वालिफायरमा कर्णाली याक्सको सामना गर्नेछ । आजै भएको इलिमिनेटरको खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *