कर्णाली एनपीएलको क्वालिफायरमा, चितवन बाहिरियो

काठमाडौं । कर्णाली याक्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) को क्वालिफायरमा पुगेको छ । बुधबार बिहान भएको इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली क्वालिफयारमा पुगेको हो  ।

जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५४ रनमात्र बनाउन सक्यो । चितवनको लागि रवि बोपाराले ५३ रन बनाए । उनले ३४ बलमा ४ छक्का र ३ चौका प्रहार गरे । यस्तै कप्तान कुशल मल्लले २१, बिपिन रावलले १८, लुक बेन्केंस्टिनले १६ र शरद भेषवाकरले १० रन बनाए ।

कर्णालीको लागि जेशन मक्सोदले ४ ओभरमा २६ रन दिएर ३ विकेट लिंदा सोमपाल कामी र नन्दन यादवले समान २/२ विकेट लिए । बिपिन शर्माको नाममा एक विकेट रह्यो ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । कर्णालीको लागि जयकिसन कोल्सवाका र विलियम बोसिटोले अर्धसतक बनाए ।

जय किसानले ३९ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५३ रन बनाउँदा बोसिटोले ५२ रन बनाए । उनले ३९ बलमा ३ चौका र २ छक्का हिर्काए । यस्तै चदविक वाल्टनले ४६ रन बनाए ।

चितवनको लागि सोहिल तानभिरले दुई विकेट लिँदा शरद भेषवाकर, रवि बोपारा र कुशल मल्लले समान एक/एक विकेट लिए ।

हारसँगै चितवन प्रतियोगिताबाट बाहिरिएको छ भने कर्णालीले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग खेल्नेछ । पहिलो क्वालिफायरमा आजै सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन ।

दोस्रो क्वालिफायर बिहीबार हुनेछ भने फाइनल खेल शनिबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *