पोखरा । रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जनाका लागि कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र युएनडिपीको आर्थिक सहयोगमा सञ्चालित परियोजनाको बोर्ड बैठकमा पछिल्लो प्रगति र आगामी कार्यक्रमहरूका बारेमा छलफल भएको छ ।
परियोजना अन्तरगत कोइकाले हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमहरूलाई बढवा दिन उपयुक्त माध्यम सिर्जना गर्दै आरयू उद्यमहरूको क्षमता निर्माण गरी हरित रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ । ग्रिन भेन्चर जोन (जीभीजेड) स्थापना गर्ने र नयाँ तथा आरयू उद्यमहरूलाई व्यवसाय इन्क्युबेशन सहायता (वित्तीय, प्राविधिक र बजार) पनि प्रदान गर्नेछ ।
महानगरपालिकाको स्वामित्वमा रहेको परियोजनाले हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोगमा समुदायलाई सक्रिय रूपमा परिचालन गर्नेछ । यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्नेछ भने आयआर्जनमा समेत योगदान गर्नेछ । यो परियोजना सिकाई केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने नगर प्रमुख धनराज आचार्यको विश्वास छ ।
बैठकमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, युएनडिपीका प्रतिनिधिहरू जुलियन चेभिल्लार्ड, कल्पना सरकार, धर्म स्वर्णकार, सुदीप अर्याल र कोइकाको तर्फबाट विकास रावल, प्रोजेक्ट म्यानेजर यमुना सुवाल लगायतको टिमको सहभागिता रहेको थियो ।