टंक कार्की ।
लेनिनले श्रमिकहरुको शिक्षा सम्वन्धि दोश्रो अखिल रुस कंग्रेसमा बोल्दै भनेका थिए,’सबैभन्दा चर्का शत्रु भनेका ‘पहिलो, कम्युनिष्ट रवाफ (communist conceit) दोश्रो, अविद्या (illiteracy), र तेश्रो, घुसखोरी (bribery) हुन्।’ शत्रु भनेका रोग हुन् ।
पहिलो रोग ‘कमुनिष्ट रवाफ’ हो । यसको आफ्नै किसिमको लाक्षणिकता हुन्छ । लेनिनले भनेको ’कमुनिष्ट रवाफ’ भनेको अरुका, विचारमा र अडानमा असहिष्णुता राख्नु हो–पुरानो पिँढीले नयाँ पिँढीका वा नयाँले पुरानोका, विभिन्न पेशामा रहेका विशेषज्ञले अन्य पेशामा रहेकाहरुको विचार र अडानलाई सुन्ने धैर्यता न राख्नु, तिनको ठाडै अस्वीकार गर्ने खालको प्रवृत्ति हो । यसका पछिल्तिरका कारणमा उनीहरु आफ्ना ईच्छा अरुमाथि थोपर्ने विशेष अधिकार रहेको ठान्ने गर्दछन् । ‘माने मान न माने मै तेरो मेहमान’ किन पनि भने उनीहरुमा मैले माथिल्लो दर्ज्यानी तक्मा लगाको छु, म धनीमानी हुँ भन्ने जस्ता आडम्बर पर्दछन् । यस्ता खाले मानिसहरु सादा जीवनमा होइन, अक्सर गरेर अभिजात वर्गको सिको गर्दै आफूलाई विशिष्ट देखाउन बडो झिल्के भनेर देखा पर्दछन् । यो सामन्ती रवाफको नयाँ संस्करण हो ।
‘कम्युनिष्ट रवाफ’ जनसमुदायको हितमा संवेदनशिलताको अभाव हो र त्यो कहिलेकाहीं मानतावाद विरोधी बावुसाहेवी रवाफमा पनि रुपान्तरित हुन्छ । उनीहरु व्यक्तिको जीवन र सुखमा उदासिन रहन्छन् । उनीहरु मलामी जाँदा अट्टाहास हासो छोड्न र जन्तीमा रुन धक मान्दैनन् । आवश्यकता चाहिं के हो भने जन समुदायको सेवामा बीच रहेर उनीहरुको सेवामा ‘सोझो गोरु झैं भएर लुरुलुरु काम गर्ने गर्नु जस्तो कि चिनियाँ महान साहित्यकार लु सुन भन्ने गर्थे । उनीहरु बीचमा विचारधारात्मक काम गर्नु, उनीहरुलाई आफ्नो पेशा व्यवसायलाई सम्हाल्दा सम्हाल्दै पनि स्थानीय र राष्ट्रिय मुद्धामा सहभागिताको महत्व बुझाउन, उनीहरुको विचार र प्राथमिकता सुन्न, उनीहरुलाई सुल्झेका अल्पकालिन तथा दीर्घकालिन उपाय सिक्न र पर्घेल्न सहजीकरण गर्नु पो हो त ।
उनीहरुलाई सम्झाई बुझाई गर्नु, उनीहरुबाट सिक्नु, बोसिज्मको आधारमा होइन विधिसम्मत कमिटीगत सामूहिक निर्णय प्रकृयाको सख्त अनुशरण गरेर फैसला गर्नु जसले गर्दा निर्णयको स्वामित्व लिन प्रोत्साहित गर्दछ, र साहूहिकरुपमा एकढिक्को भएर कार्यन्वयन गर्नु, जसले गर्दा सहक्रियाका अतिरिक्त लाभ (synergic effect) सहज हुन सकोस् । व्यक्तिको कृत्रिम करिश्मालाई होइन, आन्दोलनको श्रीवृद्धिमा लाग्नु, नेता होइन सामूहिक नेतृत्व र सामूहिक संज्ञान, सामूहिक संकल्प, नीति र विचारलाई प्राथमिकता दिनु अनि बाबुसाहेव होइन सामाजिक वारिसको रुपमा नेता बन्नु जरुरी छ । हाम्रो आन्दोलनमा देखापरेको ‘कम्युनिष्ट रवाफ’को अजीर्ण रोगबाट छुटकारा पाउने यो एउटा राम्रो उपाय हुन सक्दछ ।
दोश्रो रोग अविद्या हो । अविद्या भन्नाले वरिपरिका समसामयिक, जल्दाबल्दा या सांसारिक धेरैजसो मामिलामा सुस्पष्ट सामागृक धारणाको अभाव देखिनु हो । यो सैद्धान्तिक तथा विधारधात्मक कामको अभाव वा न्यूनताको सह उत्पादन पनि हो । त्यसो भएपछि, त्यसले आफूसँग भिन्न मत राख्नेका विचार, धारणा र अडानलाई अनुभूत गर्न सक्दैन । सामूहिक छलफल त्यतिबेला उपयोगी हुन्छ जब त्यसका सहभागीहरु सक्षम र सुसूचित हुन्छन् । यसैकारण छलफल गरिने विषयमा खुलापन र पर्याप्त सुचना हुनु भनेको सामुहिक कार्यकुशलताको कखरा हो । छलफलको संस्कृति नहुनु, अर्काको कुरा सुन्ने धैर्यता र क्षमता नहुनु, अझ त्यसलाई निषेश गर्ने परिपन्च मिलाउनु र अर्काको कुरा बुझ्ने र सकरात्मक कुरालाई आत्मसाथ गर्ने कुरा नहुनु भनेको अविद्याकै लाक्षणिकता हो र त्यसले खती गर्दछ ।
अविद्याको सबैभन्दा भद्दा अभिव्यक्ति भनेको उच्च पदासिन हाकिमहरुको असक्षमता पनि हो । तिनीहरु आफ्ले जानेको छैन भनेर स्वीकार्नु र विशेषज्ञहरुको राय सल्लाह लिनु भनेको आफ्नो मर्यादा विपरित ठान्दछन् ।
तेश्रो रोग हो घुसखोरी/भ्रष्टाचार । यसको व्यापकताले सामाजिक रुप पनि ग्रहण गर्न सक्दछ । यसले विधिको आँखा छलेर ‘छ्याकन’ खान्छ । अँध्यारो कोठामा बसेर सबै तारतम्य मिलाउँछ । तिनीहरुको निम्ति सुशासन घोषणा हो कर्म होइन । राज्यमा स–सानादेखि बडे–बडेमाका ‘डिल’ हुन्छन् । भित्रकासँग पनि बाहिरकासँग पनि । त्यस शिलशिलामा रक्षा कवजको निम्ति प्रभावकारी तहको एक सघन सिन्डिकेट बनेको हुन्छ र तिनको रुद्र घण्टीबाट आवाज ननिस्कियोस् भन्नको निमित्त सबैको मुखमा बुझो लगाइन्छ । न्यायकी देवीको आँखामा पट्टि बाँधिएको हुन्छ, उनीकहाँ फिराद पुग्दैन । घुसखोरी/भ्रष्टाचार अधम हो, यो सामाजिक न्यायको विरुद्धमा पनि छ र विकासको बाधक हो, त्यो तिनको ब्रह्ममा घुस्दै घुस्दैन, घुसी हाले पनि लिपापोती गरेर झारो टार्छन् । अनि भने लाग्छ, त्यसले सामाजिक स्वीकृति पाएको छ र समाज महामारीमा फस्न पुग्दछ ।
रोगको निदान चाहने हो भने, पहिले त त्यसको राम्रो चिरफार गर्नुपर्दछ र तितै किन नहोस् औषधि खानु पर्दछ । हेल्चेक्राईं होइन, रोगलाई उत्सर्जन गर्ने आन्तरिक संरचना, प्रणाली र संस्कृतिमा, चिन्तन र व्यवहारमा आमूल सुधार गर्नु पर्दछ ।