राष्ट्रिय फोटो पत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी

चीन (विन्जाओ) । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) र चीनको सान्तोङ प्रान्तमा रहेको विन्जाओ मिडिया ग्रुपबीच समझदारी गरिएको छ ।

एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त र विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओ जिङ्युआनबीच विन्जाओमा सांस्कृतिक तथा व्यवसायीक फोटो पत्रकारितामा दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्नका लागि समझदारीपत्र आदान प्रदान गरिएको हो ।

समझदारीले राष्ट्रिय फोटोपत्रकार समूह र विन्जाओ मिडिया ग्रुपबीच फोटो, भिडियो, समाचार आदानप्रदान गर्ने र व्यवसायिक क्षमता विकासमा लागि महत्वपूर्ण भूमिका खेल्ने छ ।

कार्यक्रममा विन्जाओका मिडिया ग्रुपका निर्देशकले दुई देशका फोटो पत्रकार तथा मिडिया हाउसबीच समझदारी गर्न पाउँदा खुसी लागेको बताए । उनले यस्ता समझदारीले समाचारका माध्यमबाट सांस्कृतिक तथा पर्यटनलाई टेवा पुर्याउनमा महत्वपूर्ण भूमिका खेल्ने र नेपाल सरकार र चीन सरकारबीच भएको मिडिया सम्बन्धी सम्झौतालाई पनि सहयोग गर्ने बताए ।

यहाँको राम्रो पक्षको नेपालमा प्रचारप्रसार गराउन सहयोग पुग्ने हेतुले नेपालका फोटोपत्रकार समूहसँग यो मित्रता गाँसिएको उनको भनाई थियो ।

एनएफपिजेका अध्यक्ष वन्तले सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण रहेको विन्जाओको मिडिया ग्रुपसँग गरिएको समझदारीले फोटो तथा समाचारहरुको माध्यमबाट दुई संस्थाको मित्रतालाई थप स्थापित गर्न सहयोग पुग्नुका साथै दुई देशबीचको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय मिडिया हाउससँगको पहिलो समझदारी गर्न पाएकोमा उनले खुसी समेत व्यक्त गरे ।

कायक्रममा विन्जाओ फोटोग्राफर एसोसियसनका अध्यक्ष लिइ जनपिङ् उपाध्यक्ष तथा सिनियर फोटोग्राफर सु सोय र एनएफपिजेका उपाध्यक्ष सुनिल शर्मा लगायत नेपालबाट चीन भ्रमणमा रहेका फोटो पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।
राष्ट्रिय फोटोपत्रकार समूहलाई विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओले रेडियो संग्रहालय र टेलिभिजन प्रसारणको पनि अवलोकन गराएका थिए ।

विन्जाओ मिडिया ग्रुप विन्जाओकै सबैभन्दा ठूलो मिडिया हाउस हो । यसले शहरमा पत्रिका, रेडियो, टेलिभिजन, वेबसाइट र मोबाइल एपमार्फत समाचार संकलन, वितरण तथा प्रसारण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

preload imagepreload image