काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग(एनएसएल) आगामी चैतमा हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजना हुने लिग चैत १६ गतेदेखि हुने जनाइएको हो ।
बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले नेपाल सुपर लिगका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई चैत्र १६ गतेबाट सुरु हुनेगरी अनुमतिपत्र प्रदान गरेका हुन् ।
एन्फा महासचिव राईले नेपाल सुपर लिगले नेपाली फुटबलको स्तरउन्नतिको लागी महत्वपूर्ण छाप छोडेको र नेपाली फुटबलको विकासमा ठूलो योगदान पुर्याएको बताएका छन् । यस्तै लिगका प्रबन्ध निर्देशक कार्कीले नेपाल सुपर लिगको तेस्रो सिजनका लागि उत्साहित रहेको र नेपाल सुपर लिगका फ्यानहरुलाई तेस्रो सिजन झनै स्मरणीय बनाउने बताएका छन् ।
पहिलो संस्करणको एनएसएलको उपाधि काठमाडौं रेजर्सले जितेको थियो भने दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको थियो ।