काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा रहेको बहुमतलाई खण्डित गर्ने प्रयास भएपछि प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।
आइतबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा नेकपाको एकल बहुमतलाई खण्डित गर्ने षड्यन्त्र सुरु भएपछि आफूले प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् ।
पाँच वर्ष सरकार टिकोस् भन्ने जनताको चाहना भएपनि पार्टीभित्रैबाट अस्थिरता पैदा गर्ने काम भएकाले संसद विघटन बाध्यता भएको बताए । उनले भने, ‘असार चार गतेदेखि पुस ४ गतेसम्म सरकारलाई कमजोर पार्न खुमलटार, कोटेश्वर, अर्याल होटललगायतका ठाउँमा २८० वटा बैठक भएछन् । त्यहाँ सरकारलाई काम गर्न दिनु हुँदैन भन्नेबारेमा निर्णय भए । यस्ता गुटगत भेला नै संसद विघटनको कारक बन्यो ।’
उनले मुलुकमा स्थिर राजनीतिका लागि निर्वाचन घोषणा गरिएकाले निर्वाचनको तयारीमा लाग्न आग्रह गरे । निर्वाचनमा जाने भन्नेबित्तिकै धेरैको सातो गएको भन्दै प्रधानमन्त्रीले रिङमा उत्रन सबै दललाई आग्रह गरे । उनले भने, ‘रिङमा आउनुस्, जितेर बेल्ट लगाउनुस् । निर्वाचन भन्नेबित्तिकै सातो किन गएको ?’ उनले आफूले गलत गरेको रहेछ भने जनतामा गएर दण्ड दिन सुझाव दिए ।
प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र व्यवहारमै फिर्ता ल्याउनको लागि काम भइरहेको बताए । उनले नेपालको नयाँ नक्सा कागजमा मात्र नभई व्यवहारमै नेपालको नाममा कायम गरेरै छोड्ने दाबी गरे ।
