बिर्तामोड नगरपालिकाका पूर्वमेयर पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ । घरमा काम गर्न राखिएकी बालिकालाई बलात्कार गरेको आरोपमा शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।

काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा शिवाकोटीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शिवाकोटीले पढाइदिने र घरको काममा पनि सघाउने भन्दै बालिकालाई बिर्तामोड नगरपालिका–५ स्थित आफ्नै घरमा राखेका थिए ।

उनी कलेज ड्रेसमै काँकडभिट्टाबाट भारत जान खोज्दै गर्दा नाकामा रहेको माइती नेपालको सहयोगमा प्रहरीले उद्दार गरेको हो । बालिकाले घटनाका बारेमा सुनाएपछि प्रहरीले शिवाकोटीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका शिवाकोटीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधित्व गर्दै उनी बिर्तामोड नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *