सत्य र न्यायका लागि आमनागरिक एकजुट हुनुपर्छः भट्टराई

विराटनगर । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्य र न्यायका लागि आम नेपाली नागरिक एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

जनता समाजवादी पार्टी नेपालद्वारा शनिबार विराटनगरमा आयोजित जनप्रदर्शन तथा विरोधसभालाई सम्बोधन गर्दै भट्टराईले जनविद्रोह र जनआन्दोलनबाट प्राप्त उलब्धिलाई रक्षा गर्ने आफूहरुको दायित्व भएको बताएका हुन् ।

उनले संविधानको प्रभूसत्तालाई रक्षा गर्न जनसङ्घर्षको आवश्यकता आइपरेको भन्दै भूमिहीन किसानले भूमि पाउनुपर्ने, किसानले समयमै मल पाउनुपर्ने र महिला हिंसा अन्त्य हुनुपर्नेमा जोड दिए।

डा भट्टराईले भ्रष्टाचारलाई निवारण गर्ने कार्यमा सरकार असफल भएको आरोप लगाउँदै मुलुकबाट गरिबी हटाउन बन्द उद्योग पुनःसञ्चालन हुनुपर्ने बताए ।

उनले सुविधाजनक बहुमतको सरकारले संसद् भङ्ग गरेर निर्वाचन गराउन नखोजेको आशंका व्यक्त गर्दै सरकारको कदम शान्ति सुरक्षा, राष्ट्रिय एकता र सुशासनप्रति अडिग रहनुपर्नेमा जोड दिए ।

सोही पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले राजनीतिक समस्याको निकास राजनीतिक तहबाट नै हुनुपर्ने बताउँदै जनताका अधिकार खोसिएकाले अदालतमा गएको धारणा व्यक्त गरे ।

उनले जनविद्रोह र जनसङ्घर्षका लागि आमसमुदायलाई तयार रहन आग्रह गर्दै काम चलाउने सरकारले मन्त्रिमण्डल विस्तार गर्नु उपयुक्त नभएको बताए । अध्यक्ष यादवले सरकारले राजनीतिक दललाई कमजोर पारेको, संवैधानिक अङ्गमा कब्जा जमाएको आरोप लगाउँदै सरकारले शिक्षा, स्वास्थ्यमा सुधार नगरेको बताए ।
्

Leave a Reply

Your email address will not be published. Required fields are marked *