निर्वाचनले मात्रै मुलुकको सङ्कट समाधान गर्छ : मन्त्री थापा

काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले नयाँ निर्वाचनले मात्रै मुलुकको सङ्कट समाधान गर्ने बताएका छन् । मुलुकलाई स्थायित्वमा लैजानका लागि सरकारले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेको जानकारी दिँदै मन्त्री थापाले समयमै नयाँ निर्वाचन गर्नु नै सरकारको आधारबिन्दु भएको स्पष्ट पारे ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले वर्तमान परिस्थितिमा संसद् पुनःस्थापना हुनु भनेको देश पछाडि धकेलिनु भएको बताए । संसद् विघटनका विषयमा आएका टीकाटिप्पणीलाई सङ्केत गर्दै उनले कुनै पनि विषयमा राजनीतिक टिप्पणी र विश्लेषण हुनुलाई स्वाभाविकरुपमा लिएको बताए । उनले अहिलेको अवस्थामा निर्वाचनमा जानुपर्ने बाध्यात्मक परिस्थिति बनेको जानकारी दिए ।

उनले मन्त्री हुनका लागि समूह परिवर्तन गरेको आरोपको खण्डन गरे । “वर्तमान सङ्कटको घडीमा इमान्दार र गतिशील मान्छे मन्त्रिमण्डलमा जानुपर्छ भनी प्रधानमन्त्रीले गरेको प्रस्तावलाई आफूले स्वीकार गरेको हुँ, मेरा निम्ति मन्त्री ठूलो कुरा होइन”, उनले भने । उनले पार्टीका प्रथम अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली रहेकाले पार्टीको वैधानिकता पाउने जिकिर गरे । आफूले जीवनमा कसैलाई पनि धोका नदिएको मन्त्री थापाको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *