नारायण गाउँले ।
जेब्राक्रसिङ्मा ट्रकको ठक्करले सामाजिक अभियन्ता गिभिना मगरकी आमाले ज्यान गुमाउनुभयो । देशभर आधा दर्जन यातायात मन्त्री छन् । सडक विभाग र यातायात व्यवस्था कार्यालय छन् । हजारौँ इन्जिनियर र अर्बौंको बजेट छ । दुई चार किलोमिटरमैं भेटिने स्थानीय सरकारले पनि सडक हेर्छन्, लौरो तेर्स्याएर तरकारी बोक्ने रिक्सासम्मबाट कर उठाउँछन् । तर हाम्रा सडकहरू मृत्युको धराप जस्ता छन् । कतै हिँड्दा हिँड्दै फुटपाथ हराउँछ, कतै मान्छे गायब हुने खाल्डाहरू खनेर बेवारिसे छोडिएका हुन्छन् । विश्वकै असुरक्षित जस्तो लाग्ने गरी धूलो र धुआँको घातक मुश्लोमा सड़कबीचमा ट्राफिक प्रहरीलाई उभ्याइएको हुन्छ । हातले गुडि़रहेको साधनलाई रोक्नेजस्तो अत्यन्तै जोखिमपूर्ण दृश्य सामान्य लाग्छ ।
शहरी सडकको न्यूनतम पूर्वाधार मानिने ट्राफिकलाइट र क्रसिंग पनि छैनन् । सड़क पिच गरे पुग्छ भन्ने कन्सेप्ट छ । डिजाइन, सेफ्टी, इफिसियन्सीजस्ता पक्ष शून्य जस्तै छन् । जङ्क्शनहरूको डिजाइन त झन् उदेकलाग्दो छ । अहिले बनेका नयाँ शहरी पिचमा त झन् फुटपाथ पनि छैन । स्कुले बालबच्चादेखि रिक्सा, साइकल, ट्रक, टिपर, ह्वीलचेयर र मोटरसाइकलसम्म एउटै लेनमा असीमित स्पीडमा कुद्ने डिजाइन छ हाम्रो ।
देशको महानगरपालिकाभित्र जेब्राक्रसमा पैदलयात्री सुरक्षित नहुने हो भने सड़कको कुन भाग उसका लागि सुरक्षित होला ? गाडीले पैदलयात्रीलाई रोक्न, बाटो दिन या गति घटाउन नपर्ने जेब्राक्रस किन बनाइएका होलान् ? जबकी बाटो काट्दै गरेको बटुवालाई ट्राफिक पुलिसको गाडीले समेत रोकेर बाटो दिँदैन ।
गाडीले ठक्कर दिएर घाइते बनाएपछि ब्याक गरेर मान्छे मारेको समाचार हरेक महिनाजसो सुनिन्छ । त्यस्तो किन हुन्छ भन्नेतिर कसैले सोचेको छैन । कानुन, विनियम र इन्स्योरेन्स पोलिसी अपडेट गर्ने, गाड़ीले ठक्कर दिँदैमा सबै केसमा ड्राइभर अपराधी हुँदैन भनेर तिनलाई शिक्षा दिने, ड्राइभरले घरखेत बेचेर ड्राइभरको उपचार गर्न पर्दैन भन्ने व्यवस्था गर्ने, घाइतेलाई प्राथमिक उपचार या एम्बुलेन्स मगाउन सघाउँदा इन्स्योरेन्स प्रिमियम कम तिरे हुनेजस्तो केही इन्सेन्टिभ राख्ने हो भने कति ज्यान बच्न पनि सक्थे । हामी अपराध र घटना कम गर्नेबारे, कारण बारे कम सोच्ने र व्यक्तिबारे बढी सोच्ने भएका छौं ।
एउटा नागरिकले जेब्राक्रसमा ज्यान गुमाउँदा हामी सबैलाई लज्जा, पीडा र पश्चात्ताप लाग्नुपर्ने हो । हामी सबै कुनै न कुनै रूपमा जिम्मेवार छौं यो रोक्न सकिने दुर्घटनामा । अझ यही क्षेत्रमा नीतिनिर्माण गर्ने र जनताको करबाट पालिनेहरूको आत्मा त पोल्नुपर्ने हो । यो घटना अपवाद होइन, नियमित दुर्घटना हो । हाम्रो मुद्दा, प्राथमिकता र चासोमा राजनीतिमात्रै भएकाले आमजीवनको मूल्य नभएको मात्रै हो । सातआठवटा यातायात मन्त्री, सचिव, कर्मचारी, बैठकभत्ता, विदेशभ्रमण र गाडीको पैसाले सजिलै ट्राफिकलाइट बन्छ । स्रोत जति मन्त्री पाल्न खर्च भएपछि नागरिके ज्यान गुमाउनु सामान्य भयो ।
कसैको कुभलो नचाहने ती निरपराध गिभिनाले आमा गुमाइन् । मातृवियोगको शोक खप्न नसकेर केही घण्टामा भाइ पनि गए । कस्तो पीडादायी खबर ! यस्तो बज्रपात सहनु पनि कसरी ! तर नसहेर गर्नु पनि के ! उनलाई सहने शक्ति मिलोस्, प्रार्थना !
