टंक कार्की ।
२०२६ सालको कुरा हो । ताप्लेजुङको फुङ्लिङ बजारमा रोजै जस्तो अम्बिटार तिरका एक जना भलाद्मी ठ्याक्कै मध्यान्ह पछिको ४.३० बजेतिर बजार उक्लिन्थे र वल्लो बजारबाट पल्लो बजारसम्म जान्थें । मैले अहिले उनको नाम भने लाख कोसिस गर्दा पनि सम्झिन सकिनँ । खैर क्यै छैन, नामै न भएर बिग्री हाल्ने क्यै छैन । अग्लो, जिउ डाल मिलेको, खाईलाग्दो, हट्टाकट्टा । आइरन लगा’र चिटिच्याट्ट परेका दौरा सुरुवाल, उसमाथि दामी कालो कोट लगाको । शिरमा मिलार लगाको ढाका टोपी, अनि टलक्क टल्किने काला छालाका जुत्ता लगा’र क्याट वाक त न भनौं फेरि पनि बडो शानका साथ उनका कदम चल्थे । पहिलो पटक देख्नेलाई लाग्दो हो उनी कहीं कत्तै ठिनेमिने होइनन्, सायद राजधानीबाट खटाइएको कुनै बडाहाकिम हुन् । उनको चालढाल, बोलिबचन, हाउभाउ त्यस्तै संकेत गर्थ्यो । हुन त उनी स्थानीय नै ।
उनले यो समय नै किन चुने होलान् । उनी ठान्थे होलान् गाउँमा आफ्नो ज्ञान र औकातमा कुममा कुम जोडेर कुरा गर्ने को नै छ र ? ! फेरि किसानहरु मेलापातको धन्दामा अहोरात्र व्यस्त । उनको ज्ञान गुन कल्ले सुन्दिने ?! फुर्सद पनि त हुनु पर्यो नि ! अनि भने नियास्रो पनि मान्दा हुन् । एउटा उपाय थियो, १५/२० मिनेट जति उकालो चढ्दा समकक्षीहरुसँग भलाकुसारी गर्न पाइहालिन्छ । स्कुल छुट्टी हुन्छ, अफिस छुट्टी हुन्छ । बीचमा कोही गफिँदै छन् भने आफू पनि सुटुक्क सामेल हुँदा भई हाल्यो । आखिर उनलाई न चिन्ने पनि होइनन् ।
बीच बजारमा प्रजापती काफ्लेको कपडाको दोकान थियो प्रजापति ताप्लेजुङको पहिलो ब्याचको वामपन्थी । सबैले खातिरदारी गर्ने । मसिनो बोली, आवेगशून्य, मृदुभाषी । एकदिनको कुरा हो । ५–७ जना भलाद्मी, शिक्षक, कर्मचारी उनको दोकानमा, कोही मुडामा कोही गद्दामा र कोही बेन्चमा बसेर गफिँदै थिए । म पनि कसो कसो बेन्चको एउटा छेउमा लुसुक्क बसेर उनिहरुको संवाद सुनिरहेको छु । अम्बिटार तिरबाट आएका हाम्रा गन्यमान्य दाइ पनि टुप्लुक्क आइपुगे र कचरीमा सामेल भए । उनलाई देख्ने बित्तिकै कसैले जिज्ञासा राखी हाल्यो, ‘होइन, तपाईं त यतिका दिन कता हराउनु भयो ?! ‘उनले बस्दा दौराको पछाडिपट्टीको फेर नखुम्चियोस् भनेर जतनले अलिकति उचाल्दै मुडामा थचक्क बसे र प्रत्युत्तर दिए, ‘म अलिक दिन ओपाङचुङगोला तिर प्रज्ञा प्रतिष्ठान गर्न गएको थिएँ ।’
सायद रेडियो नेपालले विहान वाचन गरेको समाचारमा प्रज्ञा प्रतिष्ठानको चर्चा थियो । त्यो सुनेर उनले अठोट गरे हुनन्, ‘लाखेस् न आजको कचरीमा म पनि राजषी भाषा प्रयोग गरेर न देखाई कहाँ छोड्छु र ?!’ राजघरनाको दरिन कहाँ सजिलो छ, भाषामा पोख्त पनि त हुनुपर्यो । गाह्रो छ सारै गाह्रो ।
