गणेश कार्की ।
मंसिर ७ मा हुन लागेको एमालेको सडक प्रदर्शनलाई सजिलो गरि भन्ने हो भने यस्तो हुन्छ, ‘देशमा अराजकता छ । प्रधानमन्त्री केपी ओलीले देशमा भइरहेको अराजकता रोक्न सकेनन् भनेर प्रधानमन्त्री केपी ओलीलाई तर्साउन एमाले अध्यक्ष केपी ओलीले सडकमा शक्ति प्रदर्शन गर्दैछन् ।’
सुन्दा हास्यास्पद लाग्छ नि है । तर यो हास्यास्पद होइन, लज्जास्पद छ । र, दीर्घकालमा खतरनाक छ ।
हास्यास्पद यो अर्थमा कि प्रधानमन्त्री केपी ओलीले देशमा भइरहेको अराजकता रोक्न सकेनन् भनेर प्रधानमन्त्री केपी ओलीलाई तर्साउन एमाले अध्यक्ष केपी ओलीले सडकमा शक्ति प्रदर्शन गर्दैछन् । लज्जास्पद यो अर्थमा कि आफ्नै जिम्मेवारीमा रहेको कार्य गर्न नसक्दा पनि सडकमा भिड जम्मा गरेर गैरजिम्मेवार भई भाषण गर्ने योजना गर्न गर्दैछन् ।
खतरनाक यो अर्थमा कि राज्यसंयन्त्रमा रहेका प्रहरी प्रशासनबाट अराजकता रोक्न प्रधानमन्त्रीले सम्भव देखिरहेका छैनन् र त्यो अराजकता रोक्न आफ्ना कार्यकर्ताहरूलाई उचाल्दैछन् । पहिले पनि कुनै प्रसंगमा ओलीले आफ्ना कार्यकर्ताका अगाडि आक्रमण भन्दै गरेको भिडियो आएको थियो । अब ठ्याक्कै त्यही ढंगमा हिटलर जस्तो हात उठाएर आक्रमण भन्ने होलान् । यो प्रशिक्षणको सार के हुन्छ ? पार्टीका आफ्नै गुरिल्ला निर्माण गर्ने ? कि प्रहरी प्रशासन भन्दा बलिया पार्टीका कार्यकर्ता बनाउने ? एमालेको सडक प्रदर्शनले डोहोर्याउने बाटोको गन्तव्य सबैभन्दा डरलाग्दो र अलोकतान्त्रिक छ ।
एमालेले भन्ने गरेको अराजकता के हो भन्ने प्रश्नमा त हामी पुगेका नै छैनौँ । रास्वपाको सडक संघर्षलाई अराजकता भनेका हुन् कि ओली पुगेका कार्यक्रममा लाग्ने गरेका मुर्दावादका नारालाई ? या सामाजिक सञ्जालमा उनीप्रति आउने गालीलाई ? कि उनको पेजमा चलेको अनफलो अभियानलाई ? दुर्गा प्रसाइँको भनिएको भिडियोलाई त पक्कै होइन, किनकि भिडियो आउनु भन्दा अगाडि नै एमालेले कार्यक्रम तय गरिसकेको हो ।
यी प्रश्नको जवाफ नदिई एमालेले गर्न लागेको सडक प्रदर्शनको अभिधा हास्यास्पद छ । लक्षणा लज्जास्पद छ । र व्यञ्जना, दीर्घकालका लागि खतरनाक छ ।