संविधानमा ’कू’ हुँदै गर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्नु नेम्वाङको निरिहताः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङ संसद विघटनका बारेमा नबोल्दा आफूलाई दया लागेको बताएका छन् । सामाजिक संजाल फेसबुकमार्फत थापाले संविधानसभामा अध्यक्ष भएको नाताले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा असंवैधानिक हो भन्नुपर्नेमा नेम्वाङ लुकेर बसेको बताएका छन् ।

थापाले भनेका छन्, ‘प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस सुरू हुँदैछ। म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ।’

यस्तो संकटका बेला तत्कालीन संविधान सभा अध्यक्ष नेम्वाङ अदालतमा उभिएर प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्दै जमेर बहस गर्नुपर्ने थापाको भनाइ छ ।

उनले लेखेका छन्, ‘मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो। मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय यस्तो हुँदै होइन भनेर सन्दर्भसहित जमेर बहस गर्नु हुनेछ । अपसोच उहाँ त कसैले केही सोध्लान् की भनेर लुकेर बस्नुभएको छ। प्रश्नबाट भाग्नुभएको छ। आफैँले बनाएको संविधानमा ’कू’ हुँदै गर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ।’ प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस लगायतका दलले विरोध गरिरहेका छन् । तर यसबारे नेता नेम्वाङले केही बोलेका छैनन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *