केशवप्रसाद भट्टराई ।
काठमाडौं । राज्यका प्राथमिकताहरूमा ९ बाट १० वा ९ वाट ८ हुनुसिवाय अमेरिकामा ट्रम्प वा ह्यारिस जो आएपनि ठूलो अन्तर पर्ने होइन । बढी भन्दाबढी भयो भने ९ बाट ७ वा ९ बाट ११ मात्र हो । मूलतः सुरक्षा संयन्त्रहरू र थिङ्क ट्यांकहरूले चलाउने हो अमेरिका ।
ड्वाइट आइजनहावरको पालामा अमेरिका भियतनाम युद्धमा संलग्न हुन पुग्यो । लिन्डन बि जोन्सनको पालामा प्रत्यक्ष संलग्न भयो । जोन्सन र निक्सनले युद्ध अन्त्य गर्न हर सम्भव गरे । एकैपटक जेराल्ड फोर्डको पालामा युद्ध अन्त्य भयो । रिचार्ड निक्सनको कार्यकालमा चीनसँग सम्बन्ध सुधार आरम्भ भयो तर निक्सन पछि फोर्ड र फोर्ड पछि जिमी कार्टरको पालामा आएर अमेरिकाले चीनलाई मान्यता दियो र कूटनीतिक सम्बन्ध स्थापना भयो ।
जर्जडब्ल्यु बुसको पालामा अफगानिस्तानमा अमेरिकी सैनिक हस्तक्षेप शुरू भयो –अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने प्रतिवद्धता ओबामाले गरे, ट्रम्पले गरे । तर बाइडेनको पालामा आएर अमेरिकी सेना अफगानिस्तानबाट फर्कियो । फरक पर्ने भनेको केही कर र भन्सार दरमा परिवर्तन । आप्रवासन नीतिलाई केही खुकुलो पार्ने कि केही प्रतिबन्ध थप्ने–त्यस्ता मात्र हुन् ।