सडकमा भिड जम्मा गरेर छानबिन प्रभावित पार्ने प्रयास नगर्न रास्वपालाई सत्ता गठबन्धनको आग्रह

काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सडकमा भिड जम्मा गरेर छानबिन प्रभावित पार्ने प्रयास नगर्न आग्रह गरेको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले अदालतको प्रक्रियामा गएको विषयलाई प्रभावित पार्न खोज्नु उचित नभएको निष्कर्ष निकालेको हो ।

बैठकपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले अदालतलाई प्रभावित पार्नेखालको गतिविधि स्वीकार्य नहुने बताए ।

उनले भने, ‘यो लोकतान्त्रिक दृष्टिकोणले पनि उचित कुरा होइन। फौजदारी अभियोगमा छानबिन चलिरहेको बेलामा सडकबाट छानबिनको प्रक्रियालाई प्रभावित गर्ने कुरा उचित होइन।’

बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छानबिन समितिबाट सर्वसम्मतरुपमा तयार गरेको प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्वगृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको बैठकमा जानकारी गराएका थिए ।

उनले फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका बेला अदालत र सरकारलाई दबाब दिने हिसाबले भइरहेका विरोध प्रदर्शन उचित नभएको बताएका थिए ।

बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणाका साथ एक ढिक्का भएर अघि बढ्ने विषयमासमेत छलफल भएको छ ।

सरकारको हालसम्मको काम, आगामी योजनालगायत विषयमा यही कात्तिक ९ गते अर्काे बैठक बस्ने तय भएको महासचिव पोखरेलले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओलीले सत्ता समीकरणमा रहेका दलहरु एक ढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिए । लोकतान्त्रिक पद्धति, मूूल्य र मान्यताप्रति आफूहरु प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने उनले बताए ।

‘हामी लोकतन्त्रका लागि लडेका हौँ । हामीलाई लोकतन्त्र मात्रै स्वीकार्य छ । अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन । जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन आजीवन लागेका छौँ । हाम्रो यो प्रतिबद्धता र दृढतामा कुनै कमी आउँदैन । यसमा हामी स्पष्ट छौँ’, प्रधानमन्त्री ओलीले भने ।

बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री लखेक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा सीके राउतलगायत सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *